महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा चोरीमा संलग्न तीन जना व्यक्तिलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीका गौशाला नगरपालिका–१२ प्रडरिया टोलमा उक्त घटना भएको प्रहरीले जनाएको छ । विषेश्वर सिंह कुशवाहा ज.५ प ४३२४ नम्बरको डिस्कभर मोटरसाइकल चलाउँदै गइरहेको अवस्थामा तीन जना युवाले मोटरसाइकल रोकी पछाडिबाट फलामको रड प्रयोग गरी टाउकोमा प्रहार गरेका थिए । आक्रमणबाट कुशवाहा गम्भीर घाइते भएका थिए”
घटनापछि आक्रमणकारीहरूले कुशवाहाको मोटरसाइकल र एक थान मोबाइल फोन डाँका चोरी गरी फरार भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौशाला मातहतमा रहेको प्रहरी चौकी कान्तिबजार तथा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले तत्काल घटनास्थल पुगेर खोजतलास सुरु गरेको थियो।
खोजतलासको क्रममा महोत्तरीको गौशाला नगरपालिका–१२ र सर्लाही जिल्लाको सिमानामा रहेको जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा उक्त घटनामा संलग्न निर्मल साह सोनार” नितेश कुमार कुशवाहा र मनिष रामलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएका छन् । पक्राउ परेका तीनै जना गौशाला नगरपालिका–१२ कै स्थायी बासिन्दा रहेका प्रहरीले बताउँछन् ।
पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय गौशालामा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय गाैशालाले जनकारी दिएको छ ।


