विराटनगर । भन्सार छली गरी तस्करी गरिएको अनुमानित १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ बराबरको लत्ताकपडा बोकेका दुईवटा ट्रक विराटनगरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि मोरङमा तस्करी र सुरक्षा निकायबीचको अदृश्य साँठगाँठ फेरि एकपटक सार्वजनिक बहसको केन्द्रमा आएको छ।
सीमा सुरक्षाको मुख्य जिम्मेवारी लिएको सशस्त्र प्रहरी बल (एपीएफ) को आँखा छलेर, भन्सार कार्यालय नजिकैबाट ट्रकहरू सहजै भित्रिनु र नेपाल टेलिकम अगाडि आएर मात्र नेपाल प्रहरीले नियन्त्रणमा लिनु ले ‘सेटिङ’ बिना यति ठूलो परिमाणको तस्करी सम्भव छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, रानी–रोडशेष सडकखण्ड अन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित नेपाल टेलिकम कार्यालय अगाडिबाट दुईवटा ट्रक नियन्त्रणमा लिइएको हो। भन्सार तथा राजस्व छलीको सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा ट्रकमा लोड गरिएको लत्ताकपडा बिल–बीजकभन्दा बढी रहेको र भन्सार मूल्यांकन जानाजानी कम देखाएर राजस्व चुहावट गरिएको पाइएपछि चालकसहित ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ४९ वर्षीय ऋषिराम पौडेल र रामेछाप मन्थली नगरपालिका–१० का ३७ वर्षीय कुमार बुढाथोकी रहेका छन् ।
प्रहरीले प्रारम्भिक मूल्यांकनमा कपडाको अन्दाजी मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ रहेको अनुमान गरेको छ। नियन्त्रणमा लिइएका ट्रक तथा चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइएको छ। तर ट्रक समातिनु मात्रै पर्याप्त हो त ?मुख्य प्रश्न अझै अनुत्तरित छ । यति ठूलो परिमाणको तस्करी सीमावर्ती क्षेत्र पार गरेर विराटनगरसम्म आइपुग्दा सशस्त्र प्रहरी कहाँ थियो ?
नेपाल–भारत सीमामा सीमा निगरानी , अवैध आयात–निर्यात नियन्त्रण , तस्करी रोकथाम जस्ता कामको प्रत्यक्ष जिम्मेवारी सशस्त्र प्रहरी बल को हो।विराटनगरको रानी भन्सार क्षेत्रमा सशस्त्र प्रहरी बलको स्थायी गुल्म नै छ, जहाँ हाल डिएसपी तिलकबहादुर खड्का गुल्म प्रमुखको रूपमा कार्यरत छन्।
यही गुल्मको नाकाबाट दैनिक सयौं सवारीसाधन ओहोरदोहोर गर्छन्। साना व्यापारीका साइकल, मोटरसाइकलदेखि लिएर ठूला मालवाहक ट्रकसम्म नियमित चेकजाँचमा पर्ने गर्छन्।तर दुईवटा ठूला ट्रक, त्यो पनि कपडाजस्तो उच्च कर लाग्ने वस्तु बोकेर, कसरी भन्सार र सीमा नाकाबाट सहजै छि¥यो ?सुरक्षा मामिलाका जानकारहरू भन्छन् , “यति ठूलो मात्राको तस्करी कुनै एक चालक वा व्यापारीको हिम्मतले मात्र हुँदैन। सीमा, भन्सार र सडक चेकपोस्ट सबै पार गर्नुपर्ने हुन्छ। त्यसका लागि ‘सेटिङ’ चाहिन्छ।” सामान्यतया कपडाको तस्करीमा भन्सार मूल्य कम देखाउने , बिल–बीजक मिलाएर देखाउने , केही ठाउँमा चेकजाँच नगर्ने ‘समझदारी’ जस्ता विधि अपनाइने गरेको स्रोतहरूको दाबी छ।यस घटनामा पनि ट्रकमा रहेको कपडा बिलभन्दा धेरै भेटिनुले यो योजनाबद्ध तस्करी भएको संकेत गर्छ।यदि सूचनाका आधारमा नेपाल प्रहरीले विराटनगरभित्र ट्रक नियन्त्रणमा लिन सक्छ भने,सीमामा स्थायी रूपमा तैनाथ सशस्त्र प्रहरीलाई किन थाहा भएन ? कि थाहा पाएर पनि देखेझैँ नगरेको हो ?स्थानीय व्यापारीहरू भन्छन् , “सानो व्यापारीले दुई–चार थान कपडा बोकेर आए पनि सशस्त्र प्रहरीले समाउँछ। तर करोडौंको माल आउने बेला चाहिँ आँखा बन्द हुने गरेको आरोप धेरै पुरानो हो।”
यो घटना निर्वाचन नजिकिँदै गर्दा बाहिर आएको छ।राजनीतिक अस्थिरता, प्रशासनिक ध्यान निर्वाचनमा केन्द्रित हुने समय, र ठूलो रकम संकलन गर्नुपर्ने दबाब यस्ता बेला तस्करी मौलाउने गरेको विगतका अनुभवहरूले देखाएका छन्।स्रोतहरूका अनुसार , चुनावी खर्च जुटाउन , नेताका कार्यकर्ता व्यवस्थापन गर्न , स्थानीय स्तरमा ‘म्यानेजमेन्ट’ गर्न तस्करीको पैसाको प्रयोग हुने गरेको आशंका बारम्बार उठ्दै आएको छ । यसरी भन्सार छली हुने तस्करीले राज्यको अर्बौं राजस्व गुम्छ , इमानदार व्यवसायी मारमा पर्छन् , बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्छ ।विराटनगर उद्योग वाणिज्य संघका एक पूर्व पदाधिकारी भन्छन् , “हामी कानुनी रूपमा कर तिरेर व्यापार गर्छौं। तर तस्करीको सामान सस्तोमा आउँदा हाम्रो व्यापार नै धराशायी हुन्छ।”प्रश्न केवल चालक र ट्रकसम्म सीमित रहने कि तस्करी गराउने मुख्य व्यापारी , सेटिङ मिलाउने बिचौलिया , सुरक्षा निकायभित्रका जिम्मेवार व्यक्ति सम्म अनुसन्धान पुग्ला ?यसअघि पनि थुप्रै तस्करीका घटना ड्राइभर पक्राउ, सामान जफत मै सीमित भएको इतिहास छ।तर मूल योजनाकार र संरक्षण दिने व्यक्ति भने प्रायः उन्मुक्ति पाउँदै आएका छन्।
घटनाबारे सशस्त्र प्रहरी बलका स्थानीय अधिकारीहरूसँग प्रतिक्रिया लिन खोज्दा “अनुसन्धानको विषय भएकाले पछि बोल्ने” भन्दै टारिएको छ। तर यही मौनताले झन् शंका गहिरिँदै गएको छ। यदि सशस्त्र प्रहरीको कुनै संलग्नता छैन भने उनीहरूले स्पष्ट जवाफ दिन किन हिच्किचाउँछन् ? भन्सार नाकाबाट ट्रक पार भएको विवरण सार्वजनिक गर्न किन सक्दैनन् ?
विराटनगरमा समातिएको १ करोड ८१ लाखको कपडा तस्करी सामान्य घटना होइन।यो घटना सीमा सुरक्षा प्रणाली , सशस्त्र प्रहरीको भूमिक , निर्वाचनकालीन तस्करी , सबैलाई जोड्ने गम्भीर संकेत हो।अब हेर्न बाँकी छ , राजस्व अनुसन्धान कार्यालयको अनुसन्धान चालक र ट्रकभन्दा माथि उठेर ‘सेटिङ’ को जरोसम्म पुग्छ कि फेरि एकपटक साँचो दबाइन्छ ?
नव जनप्रहारबाट सभार ।


