Sunday, April 19, 2026

सर्लाहीमा तस्करी गाडीसहित तीनजना तस्कर सर्लाही प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

सर्लाहीका नाकाबाट तस्करीको ठूलो जाल उजागर :
सर्लाहीको सीमा नाकाबाटै तस्करी स्थानीय सुरक्षाकर्मीहरुको ‘सेटिङ’ ?
दुई पिकअप फूलसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीको चेकिङ टोलीले पक्राउ गरेको छ ।

सर्लाहीमा तस्करी दुईवटा पिकअपसहित ३ जना तस्करहरुलाई सर्लाहीका प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरीको टोलीले भारतबाट अवैध रूपमा भित्र्याइएको फूलसहित दुईवटा पिकअप गाडी नियन्त्रणमा लिएपछि सीमा सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । उक्त घटनामा जिल्लाका चर्चित तस्कर मानिएका संतोष भण्डारीसहित तीन जनालाई पक्राउ गरिएको सर्लाहीको प्रहरीले जनाएको छ।


सर्लाहीका प्रहरीको अनुसार भारतबाट फूल लोड गरेर ल्याइएका दुई पिकअप गाडी बिओपी त्रिभुवननगर नाका हुँदै ब्रह्मपुरीतर्फ प्रवेश गरिरहेका बेला चेकजाँचका क्रममा समातिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका ती सवारी साधन रोकेर जाँच गर्दा कुनै पनि बिलबिजक वा वैधानिक कागजात नभेटिएको प्रहरीकै स्रोतले जानकारी दिएको छ।
पक्राउ परेकामध्ये मुख्य व्यक्ति संतोष भण्डारीलाई लामो समयदेखि सर्लाही क्षेत्रमा सक्रिय तस्करको रूपमा चिनिँदै आएका छन् । प्रहरी स्रोतका अनुसार भण्डारीले विभिन्न वस्तुहरू—विशेष गरी फूल, कपडा लगायतका सामान—अवैध रूपमा भारतबाट नेपाल भित्र्याउने कार्यमा संलग्न रहँदै आएका थिए।
यो घटना पहिलो भने होइन। केही दिनअघि मात्रै मलंगवा भन्सार कार्यालयले विशेष सूचनाको आधारमा फूल लोड गरिएका दुई पिकअप र कपडा बोकेका पाँच मोटरसाइकल नियन्त्रणमा लिएको थियो। ती घटनामा पनि भण्डारीको संलग्नता रहेको आशंका गरिएको थियो । तर, पर्याप्त प्रमाण नपुग्दा उनी उम्किएको चर्चा स्थानीय स्तरमा चलेको थियो, यसपटक भने प्रहरीको चेकिङ टोलीले उनलाई सवारी साधनसहित नियन्त्रणमा लिएपछि तस्करी नेटवर्कको गहिरो अनुसन्धान सुरु हुने संकेत देखिएको छ।


घटनाको सबैभन्दा चासोको विषय भनेको सीमा नाकाबाटै यस्तो ठूलो परिमाणमा अवैध सामान कसरी भित्रियो भन्ने हो। दुई पिकअप गाडी फूलले भरिएका अवस्थामा भारतबाट नेपाल प्रवेश गर्दा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई जानकारी नभएको बताइन्छ, तर स्थानीय स्रोतहरूका अनुसार बिओपी त्रिभुवननगर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका इलाका प्रहरी कार्यालय तथा अन्य सुरक्षा निकायको उपस्थिति हुँदाहुँदै पनि यति ठूलो परिमाणमा सामान सहजै भित्रिनु ‘सेटिङ’ बिना सम्भव नभएको आशंका गरिएको छ। “यदि नियमित जाँच भइरहेको भए, यस्ता गाडी नाकामै रोकिन्थे,” एक स्थानीयले नाम नबताउने सर्तमा भनेका छन्”
यसले सीमा सुरक्षामा खटिएका निकायहरूको भूमिकामाथि प्रश्न उठाएको छ । के सुरक्षाकर्मीहरू बेखबर थिए, कि जानाजान आँखा चिम्लिएका थिए ?
यो प्रश्न अहिले स्थानीय तहदेखि प्रशासनिक वृत्तसम्म चर्चाको विषय बनेको छ।

राजस्व चुहावटको गम्भीर असर”

अवैध रूपमा फूल लगायतका वस्तु भित्रिँदा राज्यलाई ठूलो राजस्व घाटा हुने गरेको छ। नेपालमा विशेष अवसरहरूमा फूलको माग बढ्ने भएकाले भारतबाट अवैध रूपमा फूल भित्र्याएर बजारमा बिक्री गर्ने प्रवृत्ति लामो समयदेखि चलि आईरहेको छ । व्यापारीहरूका अनुसार भन्सार प्रक्रिया पूरा गरेर ल्याइने फूल महँगो पर्ने भएकाले तस्करहरूले अवैध बाटो रोज्ने गरेका छन् । यसले वैध व्यापार गर्ने व्यवसायीहरूलाई प्रत्यक्ष मार पर्ने गरेको छ, भने सरकारको राजस्व पनि गुमिरहेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीका लागि सर्लाहीको भन्सार कार्यालय मलंगवामा बुझाइएको सर्लाहीका प्रहरीले जनाएका छन् ।
सर्लाही प्रहरीका अनुसार अनुसन्धान भइरहेको र तस्करी सञ्जालका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको सर्लाहीको प्रहरीले बताउँछन् ।
प्रहरी स्रोतले भन्यो, “यो एउटा संगठित गिरोहको काम जस्तो देखिन्छ। हामी सबै पक्षबाट अनुसन्धान गरिरहेका छौँ।”
घटनापछि स्थानीयवासीहरूमा आक्रोश बढेको छ। उनीहरूले ठूला तस्करहरूलाई राजनीतिक र प्रशासनिक संरक्षण हुने गरेको आरोप लगाएका छन् । “सानो मान्छेले दुई किलो सामान ल्यायो भने तुरुन्त समातिन्छ, तर यस्ता ठूला खेप कसरी छिर्छ?” एक स्थानीय व्यवसायीले प्रश्न गरेका छन् । सर्लाहीको यो घटनाले फेरि एकपटक नेपालको सीमा सुरक्षा प्रणालीमा रहेका कमजोरीहरू उजागर गरेको छ, र दुई पिकअपभरि फूल बिना कुनै कागजात सहजै भित्रिनु सामान्य कुरा होइन। यसले कतै न कतै मिलेमतोमा तस्करी भएको संकेत पनि गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles