सवारी साधनको संख्या तीव्र गतिमा वृद्धि भइरहेको वर्तमान अवस्थामा सवारी दुर्घटनाका घटनाहरू पनि बढ्दै गइरहेका छन् । यस परिस्थितिलाई मध्यनजर गर्दै चालक, सह-चालक, सडक प्रयोगकर्ता तथा आम नागरिकलाई सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जानकारी प्रदान गर्ने, सडक अनुशासन तथा सुरक्षित सडक प्रयोगको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, साथै प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकाय एवं नागरिकहरूको भूमिका र जिम्मेवारीप्रति सचेत गराउने उद्देश्यका साथ “ट्राफिक जनचेतनामूलक सप्ताह-२०८३” शुभारम्भ गरिएको जनाइएको छ ।

मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय धनुषा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको समन्वय एवं सहकार्यमा मिति २०८३,०३,०३ गते, आज,बिहान ०७:०० बजे रामानन्द चोकबाट प्रभातफेरी कार्यक्रम सुरु भई अस्पताल रोड, जानकी मन्दिर तथा भैरव चोक हुँदै महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा पुगेर समुद्घाटन समारोह सम्पन्न भएको जनाइएको छ ।

उक्त समुद्घाटन समारोह मधेश प्रदेश सरकारका माननीय गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महत्तो ज्यूको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र बहादुर बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मधेश प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा व्यक्तित्वहरू, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी, विभिन्न क्लबका पदाधिकारी तथा प्रतिनिधिहरू, नगर प्रहरी, शिक्षक-शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरू गरी ६०० भन्दा बढी महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको बताइएको छ । समारोहमा मोनाष्टिक विद्यालयका विद्यार्थीहरूद्वारा आकर्षक सांस्कृतिक नृत्य प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रमका अवसरमा धनुषा जिल्लामा प्रभावकारी, व्यवस्थित तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन एवं सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै ट्राफिक प्रहरीको लागि आवश्यक जग्गा उपलब्ध गराउन सहयोग एवं समन्वय गर्ने धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सुरज कुमार लामा लगायतका विभिन्न व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको जनाइएको छ ।
समुद्घाटन समारोहको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले गर्नु भएको थियो ।
मिति २०८३,०३,०३ गतेदेखि २०८३,०३,०९ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नियमित ट्राफिक चेकजाँचका अतिरिक्त सवारी साधनहरूको मेकानिकल परीक्षण, विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा परिचालन, चालक तथा सह-चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण (आँखा, रक्तचाप तथा श्रवणशक्ति), चालकहरूले लागूऔषध सेवन गरे”नगरेको परीक्षण, सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक जिङ्गल प्रसारण, विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण, सडक प्रयोगकर्ता निर्देशिका वितरण, खुला रक्तदान कार्यक्रम, ट्राफिक सचेतनामूलक पर्चा-पम्प्लेट वितरण, अन्य विभिन्न जनचेतनामूलक तथा सहभागितामूलक कार्यक्रमहरू गरिने छ ।

यस सप्ताहव्यापी अभियानलाई सफल बनाउन तथा सुरक्षित, अनुशासित र जिम्मेवार सडक संस्कृतिको विकासमा योगदान पुर्याउन सम्पूर्ण सरोकारवाला निकाय, सञ्चारमाध्यम, नागरिक समाज तथा आम नागरिकहरूमा सक्रिय सहभागिताका लागि ट्राफिक प्रहरी प्रमुखले हार्दिक अनुरोध गरेको छन् ।
“ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्राको सुनिश्चितता गरौँ ।”
“सडक सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताएका छन् ।”


