वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा १९ महिनाको अवधिमा ९२ लाखको इन्धन खपत भएको छ । गाउँपालिका अध्यक्ष यसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले मनोमानी रुपमा इन्धन वितरण गरेपछि ११ महिनाको अवधिमा ९२ लाख रुपैयाँ बराबरको इन्धन खपत भएको हो ।जम्मा ६ वटा वडा भएको सखुवाप्रसौनीमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु जनताको काममा हिँड्नु नै पर्छ । पक्कै उनीहरुलाई पालिकाले इन्धन, यातायात, भत्ता दिनैपर्छ । तर सखुवाप्रसौनीका अध्यक्ष यादवले गरेको इन्धन खर्च हेर्ने हो भने उनी २४ सै घण्टा जनताको काममा हिँडेको जोड्दा पनि पुग्दैन । अध्यक्ष र अधिकृतद्वयले वैशाखसम्ममा इन्धनमा मात्रै ९२ लाख ५ हजार ३९ रुपैयाँ सकाएका छन् ।
उनीहरुले आफ्नो निजी सम्पत्ति सरह अन्धाधुन्ध इन्धनको नाममा पैसा सकाएका छन् । इन्धन वितरण गर्न अध्यक्ष र अधिकृतले मात्रै कुपन वितरण गर्ने गरेको अवस्थामा यसरी अप्रत्यासित रुपमा इन्धनको नाममा जनताको पैसामाथि रजाई गर्ने जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृतले ११ महिनाको अवधि पुरा हुँदाहुँदै १ करोड नाघ्ने अवस्था छ ।
उनीहरुले २०७९ भदौ महिनामा ७ लाख ७४ हजार ४५४ रुपैयाँ, असोज महिनामा ५ लाख ७७ हजार ६० रुपैयाँ, कात्तिकमा १३ लाख १८ हजार ८६७ रुपैयाँ, मंसिरमा ८ लाख ७६ हजार ५८२ रुपैयाँ, पुसमा ४ लाख ८८ हजार १३४ रुपैयाँ, माघमा १३ लाख २३ हजार ७९३ रुपैयाँ, फागुनमा ३ लाख ५३ हजार ११९ रुपैयाँ, चैतमा ८ लाख ६३ हजार १२४ रुपैयाँ, २०८० वैशाखमा ७ लाख ३० हजार ६९० रुपैयाँ तथा जेठ १० गतेसम्म ६ लाख ३२ हजार ७६१ रुपैयाँ बराबरको इन्धन मात्रै सकाएका छन् ।
जनताले तिरेको करमाथि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको खुलेयाम लुटतन्त्र छ । गाउँपापलिकामा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले निगरानी गरि रहेको अवस्थामा पनि रति भर नडराउने चतुर भ्रष्टाचारी अधिकृत साह जहाँ गएपनि जनप्रतिनिधिको मिलोमतोमा खुलेयाम भ्रष्टाचार गर्ने गरेका छन् ।