Tuesday, September 16, 2025

पेरिस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्किएका छन् । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने उनको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुनेछ ।

ताजा / भरखरै प्राप्त

कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएका ७० वर्षीय हिन्दू राष्ट्रवादी नेता मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै उनलाई ह्वाइट हाउसमा राजकीय भोजसहितको उच्च सम्मान दिएपछि हुन लागेको यो भ्रमणमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको हार्दिक स्वागतसँगै नयाँदिल्ली र पेरिसबीच नयाँ रक्षा सम्झौताबारे छलफल हुनेछ ।

युक्रेनमा युद्ध र भारतमा मानवअधिकारको विषयमा मतभेद भए पनि दुवै देशले चीनसम्बन्धी आपसी चासोका कारण पारस्परिक सम्बन्धलाई अझ गहिरो बनाउनेमा विमति हुँदैन ।

भारत हिन्द–प्रशान्त रणनीतिको एक सबल स्तम्भ भएको राष्ट्रपति म्याक्रोँका एक सहयोगीले भनेका छन् । प्रधानमन्त्री मोदीलाई फ्रान्सेली राष्ट्रपतिले भोलि शुक्रबार हुने राष्ट्रिय दिवसको सैन्य परेडमा विशेष अतिथि बनाइएकाे छ । परेडमा भारतीय सेना र भारतीय–फ्रान्स–निर्मित लडाकु विमान पनि सहभागी हुँदैछन् जसले दुई देशबीचको घनिष्ठ सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्छ ।

भारत फ्रान्सेली हतियारको सबैभन्दा ठूलो खरिदकर्ताहरू मध्ये एक हो । प्रधानमन्त्री मोदीले सन् २०१५ मा पेरिस भ्रमणका क्रममा चार अर्ब २५ करोड अमेरिकी डलर बराबरका ३६ वटा राफेल लडाकु विमानका लागि ऐतिहासिक सम्झौताको घोषणा गरेका थिए,भने यो भ्रमणमा पनि उनले अत्याधुनिक विमानका थप २६ समुद्री संस्करणको खरिदका साथै तीन स्कर्पेन क्लास पनडुब्बीका लागि सम्झौताको तयारी गरेको हिन्दुस्तान टाइम्स दैनिकले जनाएको छ ।

नयाँदिल्लीले आफ्नो सशस्त्र बललाई द्रुत गतिमा आधुनिकीकरण गर्न खोजिरहेको छ । हिमालय क्षेत्रतिरको आफ्नो सीमानामा चीनसँग बढ्दै गएको विवादलाई लिएर चिन्तित भारतले आधुनिक उपकरणको जोहो गर्नु सामान्य हो ।

सन् २०१७ मा म्याक्रोन सत्तामा आएदेखि मोदीले चार पटक फ्रान्सको भ्रमण गरिसकेका छन्,भने राष्ट्रपति म्याक्रोनलाई २०१८ मा नयाँदिल्लीमा राजकीय सम्मान गरिएको थियो । दुवै पक्षका सहयोगीहरूले प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोँबीचको व्यक्तिगत घनिष्ठता र समान विचारले २५ वर्ष पुरानो फ्रान्स–भारत रणनीतिक साझेदारी अझ घनीभूत हुने बताएका छन् ।

नेताद्वयले जलवायु परिवर्तन, सौर्य ऊर्जा, अन्तरिक्ष प्रविधि र आणविक ऊर्जामा सहयोग र सहकार्यलाई अघि बढाउने सङ्केत गरेका छन् । भारतका विदेश सचिव विनय क्वात्राले पनि प्रधानमन्त्री मोदीको यो भ्रमण रणनीतिक साझेदारीको मानक बन्ने विश्वास व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles