डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन्।चिकित्सकहरूले सुरक्षाको माग गर्दै आइतबार अस्पताल र स्वास्थ्य संस्थाहरू ठप्प पारेका हुन्।अस्पतालहरूमा ‘ओपिडी सेवा बन्द, असुविधाका लागि क्षमा प्रार्थी छौं’ लेखेर टाँसिएको छ। चिकित्सकहरू हातमा कालोपट्टी बाँधेर अस्पताल पुगेका थिए।भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट भएको हो।कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो।जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको हो।

