महासंघ नेतृत्वका बेला सरकारले आन्दोलनको तेस्रो दिनमै वार्ता गरेर ‘सकारात्मक’ सम्झौता गरेको थियो । तर सम्झौतालाई ‘धोका’को संज्ञा दिँदै हस्ताक्षर नगरी आन्दोलनलाई निरन्तरता दिइरहेका राहत शिक्षकहरुलाई ९ दिन बित्दा पनि वार्तामा बोलाउने छाँट सरकारले देखाएको छैन । उनीहरुको आन्दोलन झण्डै महासंघकै स्तरमा बढिरहेको देखिन्छ । तर बुधबार नयाँ बानेश्वरमा प्रहरीले रोकेर दमन गर्यो, दर्जनौं संख्यामा शिक्षक, शिक्षिकालाई घाइते बनायो । महासंघ हुँदासम्म सरकारले बल प्रयोग गरेको थिएन ।
माग पूरा नभएसम्म सडकबाट फिर्ता नहुने अडान लिएका शिक्षकहरुलाई सरकारले वार्तामा बोलाउने संकेत नदिएपछि उनीहरु आक्रोशित मात्र नभई थप तनावमा पनि पर्दै गएका छन् । नौ नौ दिन हरेक दिन दिभर माइतीघर मण्डला–नयाँ बानेश्वर सडक खण्डमा उनीहरुले घरि सुतेर, घरि सिठ्ठी फुकेर त आज कालो पट्टी बाँधेर सडक ढाकेर बसेका छन् ।
आज पनि उनीहरुले सडकमा सरकार र विधेयक विरोधी गीत गाउने, कविता, गजल वाचन गर्ने गरेका छन् । गीत संगीतमा नाचे पनि । प्रदर्शनको नेतृत्व नेपाल राहत शिक्षक केन्द्रीय समितिले गरिरहेको छ । देशभरबाट शिक्षकहरु आउने क्रम जारी रहेको आन्दोलनकारीहरुले बताएका छन् । दमन र धरपकड नगर्न उनीहरुले सरकारलाई चेतावनी दिइरहेका छन् ।
‘नाचगान गर्दा तनाव अलिक मम हुन्छ’ एक आन्दोलनकारी राहत शिक्षकले भने, ‘हामी सरकारलाई हाम्रो अधिकार खोस्ने विधेयक संशोधन गराउने माग पूरा गराउन हरेक कोणबाट विरोध कार्यक्रम गर्छौं ।’ गस्त संगीत र नाचगानले केही समय भएपनि तनाव मत्थर हुने उनको भनाइ छ । जस्तोसुकै कठिन अवस्था र दमन व्यहोर्न आफूहरु तयारी मानसिकतासाथ सडकमा आएको आन्दोलनकारीहरु बताउँछन् । उनीहरू दलमाेठ, चिउरा, राेटी, बिस्कुट, पानी लगायत खानेकुरा बाेकेर प्रदर्शनमा खटिइरहेका छन् ।
आन्दोनलमा एडीबीको सहयोग रकमअन्तर्गत राहत कोटा, पेन्सनबाट वञ्चित, बाल शिक्षा (इसीडी)का शिक्षक तथा विद्यालय सहयोगी (कर्मचारी)हरु सहभागी छन् । सरकारी तथ्यांक अनुसार देशभरका सामुदायिक विद्यालयमा ३८ हजार २ सय ३८ राहत शिक्षक छन् ।
राजनीति
शिक्षा
