परराष्ट्रमन्त्रीले भने-कानुनी प्रक्रिया पूरा गरेपछि १० नेपालीको शव ल्याउँछौंकाठमाडौं । इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव कानुनी प्रक्रिया पूरा गरेपछि ल्याइने भएको छ ।इजरायलबाट २५४ नेपाली विद्यार्थी ल्याएर शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरणपछि पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले यस्तो जानकारी दिएका हुन् ।उनले भने, ‘अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौं ।’उनले इजरायलबाट शव ल्याउन समस्या नरहेको जनाएका छन् । उनले यसका लागि केही समय धैर्य गर्नै अनुरोधसमेत गरेका छन् । उनले शव ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि जानकारी दिए ।हमास समूहको आक्रमणमा परेर गत शनिबार (असोज २० गते) १० नेपालीले ज्यान गुमाएका थिए । एकजना बेपत्ता छन् भने तीनजनाको इजरायलमै उपचार भइरहेको छ ।