सर्लाही । सर्लाहीको पर्सा, सग्रामपुर, नारायणपुर, नाकाबाट केही दिन यता व्यापक तस्करी धन्दा शुरू भएको छ । हिन्दुहरूको ठूला चाडपर्व नजिकिएसंगै यस्तो तस्करी धन्दा शुरू भएको हो । मुख्य नाकाबाट तस्करी भएको समाचारहरू धेरै आउन थालेपछि अहिले तस्करहरूले अरू नाकाहरू प्रयोग गरेर तस्करी धन्दा गर्न शुरू गरेका छन् । नारायणपुर नाका अहिले तस्करहरूको लागि सबैभन्दा सुरक्षित र सजिलो भएको छ । नेपाल प्रहरीको सहयोग र संरक्षणमा यहाँबाट यस्तो तस्करी धन्दा हुदै आएको स्थानीय व्यवसायीहरू बताउँछन् । अहिले यो नाकाबाट सबैभन्दा बढी काजु , कपडा र भारतीय कुखुराको ठूलो तस्करी हुदै आएको छ । सन्तोष साहले ठूलो मात्रामा काजुको तस्करी गर्दै आइरहेका छन् । उनले दैनिक लाखौं लाखको काजु भन्सार नतिरी तस्करी गरिरहेका छन् ।त्यसैगरी भारतको इनर्वा गाउँ घर भएका विजय साह र पुकार यादवले ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् । उनीहरूले मोटरसाइकल र कहिलेकाही पिकअप प्रयोग गरेर समेत कपडाको तस्करी गरिरहेका छन् । यसबाहेक भारत वथवारा घर भएका उमेश ठाकुरले पनि ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् ।भण्डारी भनेर चिनिने व्यापारीले त बाहिर फूलको व्यापार देखाएर कपडाको ठूलो तस्करी गरिरहेका छन् ।