मदेश प्रदेश खबर
जेठ २२, २०८०
AA
२२ जेठ, काठमाडौं । सरकारले आफ्नो आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमार्फत देशभित्र गाँजा खेती गर्न सम्भाव्यता अध्ययन गर्ने गरी बजेट छुट्याएपछि सांसदहरुले यसलाई समर्थन गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठक बजेटमाथिको छलफलमा भाग लिँदै सांसद प्रदीप यादव र राजेन्द्र पाण्डेले गाँजालाई वैधानिक दिने गरी बजेटमा खेती गर्न अध्ययनका लागि बजेट छुट्याएर सकारात्मक काम गरेको बताए ।
सांसद यादवले सरकारले अध्ययन गर्ने बजेट नीति ल्याएर मात्र नहुने भन्दै खेती गर्ने बारे कानुन बनाउनुपर्ने बताए । सांसद पाण्डेले अहिलेसम्मका सरकारले गाँजालाई लागू औषधिमा राखेर कारोबारी वा सेवन गरेको आरोपमा थुप्रै युवालाई जेल राखेको भन्दै गाँजालाई खुला गर्ने गरी बजेटमा समेटेर सरकारले राम्रो गरेको बताए ।
उनले गाँजालाई खेतीकै रुपमा अगाडि बढाएर विदेश निर्यात गरी देशले उल्लेख्य रुपमा देशले आम्दानी गर्न सकिने बताए । सरकारले आगामी आवको बजेट गाँजा खेतीका लागि सम्भाव्यता स्थान अध्ययनका लागि भन्दै बजेट छुट्याएको छ ।
सरकारले गाँजालाई लागू औषधको सूचीमा राखेर यसको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा सेवन कार्यलाई दण्डनीय मान्दै यसमा संलग्नलाई कारबाही गर्दै आइरहेको छ । यसका कारण हजारौं युवाहरू जेलमा छन् ।