नेपालमा केही वर्षयता संसदमा गाजा खेतीबारे बहस भइ नै रहेका छन् । एमाले सांसद शेरबहादुर तामाङले गाजाखेतीको बहस सडकदेखि सदनसम्म नै चलाएका थिए । आगामी आर्थिक वर्षको बजेट विधेयकमा गाजाखेतीको सम्भाब्यता अध्ययन गरिने उल्लेख छ । तर बजेटमा गाजाखेतीबारे सम्बोधन गरिएकोमा प्रमुख विपक्षी दल एमालेले नै विरोध जनाएको छ ।
गाजाखेतीको सम्भाब्यता अनुसन्धानलाई प्राथमिकता दिने भनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा उल्लेख छ । जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले गाजाखेतीको सम्भाब्यता अध्ययन गरिने भनी बजेटमै घोषणा गरेपछि संसदमा हाँसोको विषय बनेको थियो । गाँजा खेतिलाई बैधानिकता दिएर नेपाललाई समृद्ध बनाउने सकिने भन्दै अघिल्लो संसदमा आवाज उठाएका एमाले नेता तामाङले बजेटको प्रशंसा गरिरहँदा एमालेकै उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले भने सरकारको योजनाको विरोध जनाएका छन् । गाजा खेतीले मुलुकमा विपत्ती ल्याउने भन्दै उनले बजेटको विरोध जनाए । उनले गाजाखेती गर्नुपूर्व ब्यवस्थापन क्षमतामा विश्वसनीय सुधार गर्नुपर्ने बताए ।
गाँजा खेतीलाई बैध बनाउने सम्बन्धी गैर सरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६) सदनमा दर्ता नै भएको थियो । २०७४ को प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेका एमाले सांसद तामाङले गाँजा बिक्रीलाई खुल्ला गरिएमा नेपालको अर्थतन्त्र २/३ वर्षमै ५०/६० खर्बको बनाउन सकिने तर्क प्रस्तुत गरेका थिए । औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले आगामी बजेटमा उल्लेख गरेका छन् ।
नेपालमा अवैध मानिएको गाँजाखेती गाउँगाउँ पुगेर प्रहरीले नष्ट गर्ने गरेको छ । तर एमालेकै नेताले गाजाखेती सम्भाब्यताबारे देशब्यापी बहस चलाएपछि सरकारले औषधिजन्य प्रयोगका लागि भन्दै वर्तमान सरकारले सम्भाब्यता अध्ययनको घोषणा गरेको हो । केन्द्र सरकारले गरेको घोषणाको प्रभावकै कारण गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा गाजाखेतीलाई समेटेको छ । तर त्यही प्रस्तावलाई बजेटमा सम्बोधन गरिएकोमा एमालेकै नेताले विरोध जनाएका हुन् । नेपालमा विकासको एजेण्डा र स्रोतहरु प्रशस्त हुँदाहुँदै सरकारले स्रोतको पहिचान गर्न नसकेको भन्दै एमाले उपाध्यक्ष पौडेलले बजेटप्रति ब्यङ्ग्य नै गरेका छन् । यद्यपि सरकारमा रहँदा एउटा कुरा गर्ने र सरकार बाहिर रहँदा सरकारको जुनसुकै कामको पनि विरोध गर्ने संस्कार भने दलहरुले त्याग्न जरुरी छ ।