इन्स्पेक्टर तिमल्सिनाले पठाएको म्यासेज सार्वजनिक भएपछि उनी छानविनमा परेका हुन् । पीडित महिला प्रहरीले तिमल्सिनाले पठाएको म्यासेजको स्क्रिनसट ‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा पोष्ट गरेपछि सार्वजनिक भएको थियो । यस क्रममा उनले सुरक्षाको सेवक भएर पनि असुरक्षा भएको बताएकी छन् ।
‘सुरक्षा सेवक भएर उनले नेपाल प्रहरीको शक्तिबाट महिलाका लागि असुरक्षाको वातावरण सिर्जना गरिरहेका छन्,’ उनले लेखेकी छन् । तिमल्सिनाले आफू पीडित भनिएकी महिला प्रहरीको शरीरको फ्यान भएको भन्दै फोटो पठाउन आग्रह गरेको देखिन्छ । उनले महिला प्रहरीलाई डियर भन्दै सम्बोधन गरेका छन् । ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ ।
पीडितले ट्वीटरमा नयाँ आईडी खोलेर यो स्क्रीनसटको विवरण पोष्ट गर्दै सञ्चारमाध्यम र प्रहरी प्रधान कार्यालय, नक्सालको ट्वीटर ह्याण्डललाई मेन्सन गरेपछि छानविनमा परेका हुन् । कास्कीमा कार्यरत डीएसपी श्रवणकुमार बिकको नेतृत्वमा समिति गठन गरेर छानबिन थालेको कास्की प्रहरीले जनाएको छ ।