बिहीबार गठन भएको समितिलाई पाँच दिनको समय दिइएको छ । बुधबार राजश्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
बरामद गरिएको सुन करिब १ सय किलो भएको अनुमान गरिएको छ । यसको आजै नेपाल राष्ट्र बैंकमा लगेर नापतौल गरिने भएको छ । सूचना अधिकारी खड्काले सुन भित्र्याउँदा संलग्न भन्सारका कर्मचारीमाथि समितिले छानबिन गर्ने बताए । प्रवक्ता खड्काका अनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।
यसका लागि समितिले सबै कर्मचारीको विवरण मागिएको छ । संलग्न देखिएका सबै कर्मचारीलाई निलम्बन गरेर कारबाही अघि बढाइने छ । पहिलो चरणमा जाँचपासका कर्मचारी र अनुसन्धानका क्रममा आवश्यक कर्मचारीमाथि कारबाही गरिनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा आयाततर्फ खटिएका कर्मचारीको संलग्नताका विषयमा समितिले छानबिन गर्न लागेको हो । समितिले आज नै कार्गो भवन गई त्यहाँ रहेका सीसीटीभी फुटेज हेर्ने भएको छ ।
छानबिन समिति
सुन तस्करी