महानगरले तोक्यो त्रिभुवन विमानस्थलको पार्किङ शुल्ककाठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थलमा पनि पार्किङ शुल्क तोकेको छ । पार्किङ शुल्कमा एकरुपता ल्याउनका लागि महानगरले विमानस्थलमा सञ्चालति पार्किङको शुल्क निर्धारण गरेको हो ।काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐन अनुसार विमानस्थलमा सञ्चालित पार्किङको शुल्क तोकेको हो ।अन्यत्रभन्दा धेरै शुल्क लिइरहेको सूचना पाएपछि महानगरले विमानस्थलको पार्किङ शुल्क तोकेको उनले बताए ।‘शुल्कमा सबैतिर एकरुपता ल्याउने निर्णय कार्यान्वयन गराउन महानगरको टोली आज विमानस्थलको पार्किङ क्षेत्रको ठेक्का लिएको कम्पनीलाई भेटेको छ । अब महानगरले तोकेबमोजिम नै शुल्क लिन भनेका छौं’ उनले भने ।त्रिभुवन विमानस्थलले पार्किङ सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । ठेक्का लिएको कम्पनीले सेवाग्राहीसँग आफू खुसी शुल्क उठाइरहेको थियो ।आर्थिक ऐन २०८०/८१ मार्फत महानगरले दुई पाङ्ग्रे सवारी साधनका लागि आधा घण्टा पार्किङ गर्दा १५ रुपैयाँ, १ घण्टाका लागि २५ रुपैयाँ शुल्क तोकेको छ । एक घण्टाभन्दा बढी पार्किङ गर्दा हरेक १५ मिनेटको ५ रुपैयाँ थप शुल्क लाग्ने व्यवस्था महानगरले गरेको छ ।यस्तै चारपाङ्ग्रे सवारी पार्किङ गर्दा आधा घण्टाका लागि ४० रुपैयाँ र १ घण्टासम्मको ७५ रुपैयाँ शुल्क तोकिएको छ । त्यसभन्दा धेरै पार्किङ गर्नेको हरेक १५ मिनेटको १५ रुपैयाँ शुल्क थप हुँदै जाने छ ।