वामदेव गौतमकै कारण तत्कालीन नेकपा फुटेको हो भन्नेहरु अहिले पनि उत्तिकै भेटिन्छन् । तर, उनै वामदेवले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान भने बामे सर्न समेत नसक्ने अवस्थामा पुगेको छ । एकता गर्नुपर्ने भन्दै घरि यता घरि उता गरिरहेका वामदेव एमाले अध्यक्ष केपी ओलीले पार्टीमा भित्र्याउन आनाकानी गरेपछि फेरि माधव नेपालको नेकपा एकीकृत समाजवादीतर्फ ढल्किन पुगेका छन् । बलियो पार्टी नभएपछि छटपटाएका वामदेवले सबै कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । पुष्पलाल श्रेष्ठको ४५ औं स्मृतिमा उनले समाजवादी मोर्चामा अलिधेरै पार्टीलाई समावेश गर्न आग्रह पनि गरेका छन् । वामदेव आफूले एमालेको सदस्यता नत्यागेको दाबी गर्दै सक्रिय राजनीति गर्ने बताएपनि ओलीको ग्रिन सिंग्नल नपाएपछि फेरि भौतारिन थालेका छन् ।