देशका ६९ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६९ जिल्लाका ४ हजार २८९ जनामा डेंगु पुष्टि भएको विवरण जारी गरेको छ ।
हालसम्म सुनसरीमा मात्रै तीन जना डेंगु संक्रमितले ज्यान गुमाएको महाशाखाले जनाएको छ । डेंगु पुष्टि हुनेमा कोशी प्रदेशमा सबैभन्दा बढी छन्। कोशीमा २ हजार ७५४ जनामा डेंगु पुष्टि भएको छ ।
त्यस्तै बागमतीमा ६६७, लुम्बिनीमा १६६, गण्डकीमा ३४४, सुदूरपश्चिममा ३१६, कर्णालीमा २० र मधेस प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको महाशाखाको विवरणमा उल्लेख छ।८८ प्रतिशत डेंगु संक्रमित १० जिल्लाका छन्। ती जिल्लामा ३ हजार ६७१ जनामा डेंगु पुष्टि भएको छ। महाशाखाका अनुसार सुनसरीमा २ हजार ५४२, धादिङमा ४०१, दार्चुलामा १९०, कास्कीमा २०५, संखुुवासभामा ६४, काठमाडौंमा ८०, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५, म्याग्दीमा ५४ र मोरङका ३८ जनामा डेंगु पुष्टि भएको हो।