तपाई मदिरा पिउनु हुन्छ ? मदिरा पिउनु हुन्छ र जुम्लाको गुठीचौर गाउँपालिकामा हुनुहुन्छ भने अब चाहँदैमा मदिरा पिउन नपाइने भएको छ ।
उक्त गाउँपालिकाले भदौ १ बाट लागू हुने गरी ल्याउन लागेको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिले मद्यपानका लागि ‘लाइसेन्स’ लिनुपर्ने व्यवस्था गरेको छ । कार्यविधि लागू भएपछि पालिकावासीले ५ सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति नै रकम बुझाएर बर्सेनि नवीकरण पनि गर्नुपर्नेछ । तर, पालिका बाहिरका मान्छेले मदिरा सेवनकर्ताका लागि भने एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
कार्यविधिले एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल र हार्डड्रिंक्स १ सय ८० मिलिलिटर मात्र पिउन पाउने गरी हदबन्दी लगाएको छ ।
