आज पनि काठमाडौंमा चिकित्सकको प्रदर्शनचिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै आन्दोलित बनेका चिकित्सकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न अस्पतालमा चिकित्सकमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको बिरोधमा चिकित्सकहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएका हुन् । उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयन गर्न माग राखेका छन् ।विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै दोषीलाई पक्राउ गरेर कारबाही गर्न माग गरे । उनले सरकारले दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । दोषीलाई संरक्षण गर्न नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदासमेत राज्य मुकदर्शक बन्न नहुने उनको भनाइ थियो । ‘सहमति धेरै भइसक्यो, हामीलाई एक्सन चाहिएको हो । यो धेरै भइसक्यो । पक्राउ गर्नुस् हामी मान्छौँ । नत्र सकेनौँ भन्नुस्, हात उठाउनुहोस् । जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ,’ उनले भने, ‘यो राज्यको कमजोरी हो, कानुनी राज्य भएको भए घटना लगत्तै पक्राउ गरी जेलमा हाल्थे । यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन । दोषीलाई संरक्षण गर्नु हुँदैन । राज्य टुलुटुलु हेरेर बसेको छ ।’प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले ‘विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ,’ ‘आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?’ ‘असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ? कामेको हातले उपचार सम्भव छैन,’ ‘सेतो कोट रातो भए समाज नै कालो हुन्छ,’ ‘स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।