
सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले गालीगलौज गरेको अडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
पूर्वाधार कार्यालयको विषयलाई लिएर भएको यो संवादमा नेता यादवले एसपी खड्का र समग्र प्रहरी प्रशासनमाथि भ्रष्टाचार र सरकारी कर्मचारीलाई अवैध असुलीमा संरक्षण दिएको आरोप लगाएका छन्।
संवादमा नेता यादवले एसपी खड्कालाई सोझै प्रश्न गर्दै ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै आक्रोश पोखेका छन् । उनले प्रहरीले रातिराति मान्छे बोलाएर पैसाको कमिसन लिने गरेको, सुरक्षा दिनुपर्ने प्रहरी नै लुटतन्त्र मच्चाउन सक्रिय रहेको र गलत काम गर्ने सरकारी कर्मचारीलाई संरक्षण दिएको आरोप लगाएका छन् । प्रहरीकै संरक्षणमा सरकारी कर्मचारीहरूले खुल्लमखुल्ला भ्रष्टाचार गरिरहेको उनको थप आरोप रहेको छ ।
जवाफमा एसपी खड्काले ‘अलि कुरा बुझेर बोल्नुहोस्’ भन्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गर्न खोज्छन् ।
तर, नेता यादवले भने आफ्नो अडान दोहोर्याउँदै ‘तपाईंहरू मधेशमा कमिसन खान आएको, तपाईंहरू लुट्न आएको’ भन्दै लगातार आरोप लगाएका छन् ।
अडिओमा दुवै पक्षबीच भनाभन र गालीगलौज बढ्दै गएको स्पष्ट सुनिन्छ ।


