Tuesday, April 28, 2026

डीआईजीपी चतुर्वेदी साब क्षमतावान नै लाग्यो:-

ताजा / भरखरै प्राप्त

कुर्सी नै विज्ञताको श्रोत होइन
———— बसन्त कुँवर
भाद्र १ गते नेपाल पूर्व प्रहरी संगठनको कार्यक्रममा भाग लिन जाँदा मधेस प्रदेशका डिआइजीपी चतुर्वेदी साबसँग मञ्चमा भेट भयो र आपसमा मधेस प्रदेशमा हाल बढ्दै गएको ड्रग्सको समस्या, प्रहरीको सक्रियता र प्रधानमन्त्रीज्यूले समेत ड्रग्स नियन्त्रणबारे बोल्नु भएको कुरासम्बन्धमा भलाकुसारी भयो।
मैले कुराकानी हुँदै गर्दा भनेँ, “डिआइजीपी साब, म बेलुका ५ बजे काठमाडौँ जाँदै छु। प्रहरीहरूको तालिममा ड्रग्सका अपराधसम्बन्धी विषय समावेश छन् तर ड्रग्स एडिक्टको व्यवस्थापन (उपचार, पुनर्स्थापना) आदिको पढाइ हुँदैन। तर जबसम्म ड्रग्स एडिक्ट व्यवस्थापन हुँदैन, तबसम्म ड्रग्स नियन्त्रण हुँदैन। यो कुरा प्रहरी अफिसरले बुझ्नुपर्छ र यदि यस कुरामा सहयोग चाहियो भने मसँग २ घण्टाको समय छ।”
मैले मञ्चमा यति भन्नासाथ डिआइजीपी चतुर्वेदी साबले मञ्चमै रहेका जनकपुरका एसपी साबलाई नजिकका सबै प्रहरी इञ्चार्ज साबहरूलाई ३ बजे डिआइजीपी अफिसको हलमा बोलाउन निर्देशन दिइहाल्नु भयो!
हामी ११ बजे देखि १ बजे सम्म कार्यक्रममा थियौं र यसै बीच अर्को कार्यक्रम बन्यो। म डिआइजीपी साबको यस सकारात्मक र केही नयाँ कुरा सिक्ने–सिकाउने चाहनाको प्रशंसक भएँ। अधिकांश अफिसरहरूले यसरी कुनै अनुरोध गरे हामीले यति यति काम गरेका छौं भनेर आफ्नै गुणगान सुनाउने गर्दछन् तर चतुर्वेदी साबको सोच फरक पाएँ। यस्ता अफिसरहरूमा विज्ञहरूको क्षमता प्रयोग गर्ने खुबी हुन्छ।
म ३ बजे डिआइजीपी अफिस जाँदा प्रहरी अफिसरहरू हल भरि उपस्थित भइसकेका थिए र डिआइजीपी साबकै अगाडि मैले ड्रग्स व्यवस्थापनसम्बन्धी जानेका कुरा भनेँ। अन्तमा डिआइजीपी साबले मलाई धन्यवाद दिँदै भन्नु भयो, “हजुरले भन्नु भएका जस्ता कुरा त पहिल्यै कहिल्यै सुनिएको पनि थिएन र सोचिएको पनि थिएन।”
हामी अधिकांशको यही विश्वास हुन्छ कि हामी हरेक कुराको जानकार छौं। अझ उच्च पदको युनिफर्ममा छौं भने त कसैको कुरा सुन्नै मन लाग्दैन, खालि सुनाउन मात्र मन लाग्छ। तर मैले डिआइजीपी चतुर्वेदी साबमा सिक्ने, सुन्ने र त्यस विषयका जानकार आएमा तिनका ज्ञान लिई हाल्ने र आफ्नो क्षमता वृद्धि गर्न सक्ने गुण पनि पाएँ।
यस्ता अफिसरहरू हेर्दा सोझा साझा देखिन सक्छन् तर भित्रबाट ठूलो क्षमताका हुन्छन्। मैले कहिल्यै यी साबसँग यसरी केही बेर कुरा गर्ने मौका पाएको थिइनँ तर आज कुरा गर्दा लाग्यो “यी जर्साबले ड्रग्स नियन्त्रणको क्षेत्रमा मधेस प्रदेशमा एक ठूलो नाम राखेर जाने छन् र म पनि उहाँको यस कार्यको सफलताका लागि निःशुल्क साथ दिने छु।”
जो अफिसर आफ्नो दिमागलाई खाली राखेर विज्ञहरूको कुरा धैर्यपूर्वक सुन्छन्, ती अफिसरहरूले त्यस स्थानमा केही नयाँ नाम र कीर्ति राख्छन् पनि। अरुको ज्ञान लिनु र आफ्ना हकमा उपयोग गर्नु पनि महान कला हो जुन बिरलै अफिसरमा हुन्छ। नेपालको अहिलेको समस्या यो पनि हो कि अफिसर र सत्ताधारीहरूलाई विज्ञ चाहिँदैन जस्तो लाग्छ, किनकि उहाँहरूलाई भ्रम छ — “कुर्सी नै विज्ञताको श्रोत हो।”

रीह्याब स्पेसलिस्ट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles