बडा दसौं चाँडपर्वमा जेनजीको आडमा आपराधिक गतिविधि बढ्न सक्ने आकलनसहित पर्सा प्रहरीले कडा सुरक्षा योजना सार्वजनिक गरेको जनाइएको छ ।
दशैं, तिहार र छठलाई लक्षित गरी तयार गरिएको विशेष सुरक्षा योजना यही असोज ६ गतेदेखि लागू भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सुरक्षा योजनाअनुसार जिल्लाभर ११ सय प्रहरी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिएका छन् ।
पर्साका महानगर मुख्य बजार, क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रहरीको टोली परिचालन गरिएको छ । चोरी, लुटपाट र गुण्डागर्दी नियन्त्रण गर्नका लागि मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङ र सादा पोसाकमा समेत प्रहरी खटाइएको छ ।
कुनै पनि घटनाको सूचना पाउनासाथ १५ मिनेटभित्र प्रहरी त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ,’ एसपी पाठकले भनेका छन् , ‘यसका लागि क्विक रेस्पोन्स टिम ९ क्यूआरटी० तयारी अवस्थामा रहेको जनाइएको छ ।’
भारतसँगको खुला सीमा भएका कारण हतियारको दुरुपयोग, चोरी, लुटपाट र सीमा अपराधको जोखिम उच्च रहेको पर्सा प्रहरीले जनाएको छ ।
यी चुनौतीलाई ध्यानमा राख्दै निगरानीका लागि सिसिटिभी क्यामेरा, शंकास्पद व्यक्तिको अनुगमन र सूचना संकलनलाई प्राथमिकता दिइएको जनाइएको छ ।
एसपी पाठकले जेनजीको नाममा अपराध गर्ने जोसुकैलाई पनि कारबाही गर्ने चेतावनी दिए पनि दिएका छन् । ‘कानुन उल्लंघन गर्ने जो कोही दोषी हुन्, कसैलाई पनि छुट दिइने छैन,’ उनले भने, ‘आवश्यक परे मेरो जागिर जाओस्, अपराधीलाई कानुनी कठघरामा उभ्याइन्छ ।’
पर्सामा कुनै घटना वा आपराधिक क्रियाकलाप देखे १०० नम्बरमा तुरुन्त जानकारी दिन पर्सा प्रहरीले नागरिकहरुलाई आग्रह गरेको छ ।
पर्सा प्रहरीको विशेष सुरक्षा योजनाः जेनजीको आवरणमा अपराध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने, भएको पर्सा प्रहरीले जनाएको छ ।


