काठमाडौंको ललितपुरका महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा भएको दुई जनाको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयले पुरस्कार प्रदान गरेको छ ।
पुरस्कृत हुनेमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी पञ्चलाल गोले र वेद पौडेल छन् ।
पौडेल उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखामा कार्यरत छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर शिव थापालाई पनि उपत्यका प्रहरी कार्यालय पुरस्कृत गरेको छ ।
अनुसन्धानमा संलग्न अन्य ४ जनालाई चाहिँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुरस्कृत गरेको छ । सिनियर अधिकृत ३ जना र जुनियर सहित ७ जनालाई पुरस्कृत गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उपत्यका प्रहरी कार्यालयबाट ३ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट ४ जनालाई पुरस्कृत गरिएको छ ।
अभिलेखमा जनिने गरी पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक (सई) राम लामा र हवल्दार हस्त बहादुर साउद लगायत छन् । उनीहरूले ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा हत्या गरिएका केशवराज हायु र पारुहाङ राईको हत्यामा संलग्नहरूको पहिचान गरेर पक्राउ गरेका थिए ।
सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा फालेको अवस्थामा पारुहाङ राईको शव भेटिएको थियो । हत्यामा संलग्न आरोपमा प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीलाई पक्राउ गरेको थियो ।
आरोपीहरूले मङ्सिर २४ मा हायुको र मङ्सिर २५ मा राईको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।हत्या आरोपी देवराजले केशवराजसँग १२ लाख र पारुहाङसँग ५ लाख सापटी लिएका थिए । करिब ४ महिनाअघि लिएको सापटी नतिर्न देवराजले योजना बनाएर जयरामको सहयोगमा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।


