

नेपाली कांग्रेसले सिरहा जिल्लामा आयोजना गरेको वनभोज कार्यक्रममा खानपानमै भेद गरिएको खुलेको छ ।
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा हिजो बिहीबार आयोजित वनभोजमा सहभागी नेता र सर्वसाधारणका लागि छुट्टाछुट्टै भोजन व्यवस्था गरिएको थियो बनभजमा गएको मान्छेले बताउँछन् ।सो, कार्यक्रममा नेताहरूलाई मटन र कार्यकर्ता तथा सर्वसाधारणलाई चिकेन खुवाइएको स्वीकार स्वयं कांग्रेस नेताहरूले गरेका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा जिल्ला सभापति रामचन्द्र यादव को अगुवाइमा आयोजना गरिएको उक्त वनभोजमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव सहित उच्च तहका नेताहरूको सहभागिता रहेको थिए । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय पनि कार्यक्रममा सहभागी भएको थिए।
कार्यक्रममा सहभागी नेताहरू सरकारीले आफनो सवारीसाधन प्रयोग गरेर पुगेका थिए ।
मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू स्थलमार्ग हुँदै सरकारी गाडी प्रयोग गरेर पुगेका थिए भने बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ हेलिकप्टरमार्फत वनभोजस्थल पुगेका थिए। वनभोजको नाममा देखिएको यस्तो तडकभडकको समाजिक संजाल देखि चौतर्फी आलोचना भइरहेको बताइएको छ।
खानपानमा गरिएको विभेदबारे कांग्रेस सिरहाका जिल्ला सहसचिव रामबाबु यादवले मटन नेताहरू र भीआईपीका लागि मात्र व्यवस्था गरिएको स्वीकार गरेका छन् । उनका अनुसार सर्वसाधारण तथा कार्यकर्तालाई चिकेन खुवाइएको थियो भने शाकाहारीका लागि दही तथा आलु–गोभीको तरकारीको व्यवस्था गरिएको थियो। “चिकेन धेरै खपत भयो, मटन त्यति भएन। मटन नेता र भीआईपीका लागि मात्रै थियो,” उनले बताएका छन्।
सहसचिव यादवका अनुसार वनभोजमा करिब तीनदेखि चार हजार नेता–कार्यकर्ता सहभागी भएका थिए, यद्यपि सुरुमा करिब १० हजारलाई सहभागी गराउने योजना रहेको थियो। कार्यक्रममा करिब १ हजार किलो चिकेन र ३ सय किलो मटन पकाइएको भान्सामा खर्किरहेका व्यक्तिहरूले बताएका छन्।
तर, कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले भने वनभोजमा कुनै भेदभाव नभएको दाबी गरेका छन् ।
उनले सबैले सबै प्रकारका खानेकुरा खाएको दाबी गर्दै कार्यक्रम सामान्य रहेको बताएका छन् । “कुनै तडकभडक थिएन, २०–२५ हजार रुपैयाँ मात्रै खर्च भएको हो,” उनले भने, “कुन परिकार कति खपत भयो, त्यसको हिसाब अझै आएको छैन।”
नेताहरूका दाबी र संगठनकै पदाधिकारीले गरेको स्वीकारोक्तिबीच देखिएको विरोधाभासले वनभोज कार्यक्रम राजनीतिक आलोचनाको केन्द्र बनेको छ। भोजको मेनुले नै नेता र कार्यकर्ताबीचको दूरी उजागर गरेको भन्दै सामाजिक र राजनीतिक वृत्तमा कांग्रेसको आलोचना भइरहेको देखिन्छ ।


