





कसरी भयो सुनसरीको लौकही बजार तनावग्रस्त ?
अर्जुन सुवेदी ।
सुनसरी । सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय युवक विजय साहको मृत्यु भएपछि बिहीबार दिनभर तनावग्रस्त बनेको सुनसरीको लौकही बजार साँझदेखि सामान्य बनेको छ । मृतक परिवार, स्थानीय जनप्रतिनिधि र सुरक्षा अधिकारीबीच जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले मृतक परिवारलाई तत्काल एक लाख रुपैया किरिया खर्च उपलब्ध गराएर घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएसँगै अवस्था सामान्य बनेको हो ।
पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको लौकही बजारबाट ५ सय मिटर दक्षिणतर्फ भारतीय सीमावर्ती क्षेत्र पर्दछ । यही क्षेत्रबाट बुधबार मध्यरातमा सिटी सफारीमा चिनी लोड गरेर आउँदै गरेका स्थानीय ४५ वर्षीय विजय साहको सशस्त्र प्रहरीले चलाएको गोलीबाट मृत्यु भयो । घटनापछि दिनभर स्थानीयले शवलाई सडकमा राखेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरे । आक्रोशित स्थानीयले सशस्त्रको प्रबिटमा आगजनी गर्नुका साथै ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
साह सामान लिएर भारतबाट फर्किई रहँदा बुधवार राति सवा १ बजेतिर कोशी गाउँपालिका-१ को भित्री सडक खण्डको पुरी टोलमा सशस्त्र प्रहरीसँग जम्काभेट भएको र लेनदेन विवाद भएको स्थानीयको दाबी छ । पहिले दिँदै आएको भन्दा बढी पैसा मागेपछि भएको विवाद बढ्दा सशस्त्रले चलाएको गोली साहको छातीमा लागेको स्थानीय दाबी गर्छन् । स्थानीयको दाबीअनुसार सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँगको ‘लेनदेन’ विवादले नै यो घटनाको कारण हो ।
मध्यरातमा चिनी लोड गरेर ल्याउने साह ठूला व्यापारी नभएर सामान्य नागरिक हुन् । साहको भारतीय बजार क्षेत्रबाट सामानहरू नेपालतर्फ ल्याई स्थानीय व्यापारीलाई दिने पोके व्यापारी भएको मृतककी श्रीमतीबाट पुष्टि भएको प्रहरीको दाबी छ । लोड गरेर ल्याइएको चिनी साहको भए नभएको पुष्टि हुन सकेको छैन ।
सशस्त्रले जवाफी फायरिङ गर्दा मृत्यु भएको दाबी गरेको छ तर स्थानीय र परिवार प्रहरीको दाबी मान्न तयार छैनन् । किनकि घटनास्थलको प्रकृति र प्रहरीको प्रारम्भिक अनुसन्धानमा दोहोरो फायरिङ भएको पुष्टि हुने आधार देखिएको छैन । स्थानीयले जोडदाररूपमा उठाएको सशस्त्रको भूमिकामाथि प्रशासनले छनबिन गर्ने प्रतिवद्धता जनाएको छ ।
बिहीबार दिउँसो दुवै पक्षबीच ५ बुँदे सहमति भएपछि अवस्था सामान्य त भएको छ । तर यो घटनाले भारतबाट अलिअलि सामान ल्याएर बेच्ने सीमा क्षेत्रका बासिन्दाको गतिविधि निरुत्साहित गर्न अन्य विकल्प र सचेतनाका कार्यक्रम गर्नेतिर ध्यान नदिएर गोली हानेर ज्यानै लिएको घटनाले शसस्त्र प्रहरी आलोचित भएको छ । विगतमा पनि सुनसरीको लौकही क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्दा झडप तथा तनावको हुने गरेको थियो । बारम्बार यस्ता तनाव तथा मृत्युका घटना दोहोरिन नदिन स्थानीय नागरिक र प्रहरी प्रशासन दुवै संयमित र सतर्क हुनुपर्ने आवश्यकता रहेको देखिएको छ ।


