सरकारी कागजात किर्ते गरेको अभियोगमा ओमप्रकाश साह र दिलीप महतो राैतहट प्रहरीद्वरा पक्राउ परेका छन् ।

सर्लाही जिल्लाका बरहथवा नगरपालिका वडा नम्बर ४ निवासी २७ वर्षीय दिलीप महतो र सोही नगरपालिकाको वडा नम्बर १० निवासी ३२ वर्षीय ओमप्रकाश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नक्कली जरिवाना रसिद प्रयोग गरी सवारीसाधन चलाएको आरोपमा दुई जना चालकलाई राैतहट प्रहरीले पक्राउ गरेको छन् । नक्कली रसिद प्रयोग गरिएको यो घटना राजमार्ग क्षेत्रमा सम्भवतः पहिलो भएको प्रहरीले जनाएको हो।
गत पुस २६ गते साँझ करिब साढे ७ बजे रौतहटको अस्थायी ट्राफिक प्रहरी पोस्ट बागमतीमा गरिएको संयुक्त चेकजाँचका क्रममा बा.प्र.०१–०२६ च ४८१७ नम्बरको बोलेरो सवारीसाधन शंकास्पद देखिएपछि रोकिएको थियो। चेकजाँचका क्रममा चालकले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट जारी भएको भनिएको २४ घण्टे जरिवाना पुर्जी देखाएका थिए।
प्रारम्भिक जाँच गर्दा उक्त पुर्जी फोटोसपमार्फत किर्ते गरी बनाइएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले बोलेरोका चालकद्वय सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर ४ निवासी २७ वर्षीय दिलीप महतो र सोही नगरपालिकाको वडा नम्बर १० निवासी ३२ वर्षीय ओमप्रकाश साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङका अनुसार आइतबार सार्वजनिक बिदा परेकाले उनीहरूको म्याद थप हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानबाट ती दुवैले ओभरलोड बोकेको आरोपमा जरिवाना तिरेको भन्दै नक्कली रसिद ट्राफिक प्रहरीलाई देखाएको खुलेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले नक्कली रसिदमा उल्लेख गरिएको ट्राफिक प्रहरी तीन महिनाअगाडि नै उक्त स्थानबाट सरुवा भइसकेको जानकारी दिए।
यस घटनालाई गम्भीर अपराधको रूपमा लिइएको र उनीहरूविरुद्ध सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।


