नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा पार्टीका केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा शपथग्रहण गरेका छन्।

पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथग्रहण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, केन्द्रीय कमिटीका सदस्यहरू तथा विभिन्न भातृ संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले पार्टी एकता, संगठन सुदृढीकरण र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायका लागि पार्टीले निर्णायक भूमिका खेल्ने बताए।


सहसंयोजक माधवकुमार नेपालले शपथग्रहणपछि पार्टीलाई वैचारिक रूपमा सशक्त बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै अघि बढ्ने धारणा राखे। उनले आन्तरिक एकता र अनुशासनलाई प्राथमिकता दिँदै जनसमस्याको समाधानमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सहभागी केन्द्रीय सदस्यहरूले पनि पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने तथा संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। शपथग्रहणसँगै नेपाली कम्युनिस्ट पार्टीले आगामी राजनीतिक गतिविधि र संगठनात्मक कार्यक्रमलाई थप तीव्र बनाउने संकेत रहेको देखिन्छ ।


