काठमाडौँका एसपी पवन भट्टराईसहित डिएसपी कौशल बुढाथोकी र सिंहदरबारका डिएसपी जनार्दन घिमिरे पुरस्कृत उत्कृष्ट काम गरेको आधारमा उपत्यकामा कार्यरत तीन प्रहरी पुरस्कृत भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकी र सिंहदरबार वृत्तका डिएसपी जनार्दन घिमिरे पुरस्कृत भएका हुन्।

उपत्यका प्रहरी कार्यालयले उनीहरूलाई रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो ।
उपत्यकामा भएका विभिन्न किसिमका विरोध, प्रदर्शन, बन्द–हडताल, मेला–पर्व, खेलकुदलगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा एसपी भट्टराई र डिएसपी बुढाथोकी सम्मानित भएका हुन्।
त्यस्तैगरी, प्रहरी वृत्त सिंहदरबार, काठमाडौंलाई ३१७५.१९ वर्गमिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्ति एवं पूर्वाधार विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकोमा प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी घिमिरेलाई पुरस्कृत गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।


