Thursday, April 16, 2026

चितवन जिल्लामा कडा सुरक्षा घेरा:२७६६ सुरक्षाकर्मी खटिए,‘बुथ क्याप्चर असम्भव’एसपी पुरीको दाबी:-

ताजा / भरखरै प्राप्त

चितवन। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशकै चासोको केन्द्र बनेको चितवनमा यसपटक अभूतपूर्व सुरक्षा सतर्कता अपनाइएको छ। चर्चित र प्रभावशाली उम्मेदवारहरूको प्रतिस्पर्धाका कारण संवेदनशील मानिएको जिल्लामा सुरक्षा निकायले बहु-स्तरीय सुरक्षा व्यवस्थापन लागू गरेको जनाएको छ।

यसपटक चितवनको चुनावी मैदानमा रवि लामिछाने, रेनु दाहाल, सोविता गौतम र मीना खरेल जस्ता चर्चित उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। यी नामका कारण चितवनको चुनाव राष्ट्रिय बहसको विषय बनेको छ भने सुरक्षा चुनौती पनि त्यतिकै बढेको आकलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार निर्वाचन सुरक्षाका लागि जिल्लाभर २ हजार ४ सय ४१ जना नेपाल प्रहरी र ३ सय २५ जना निर्वाचन प्रहरी खटाइएको छ। “मतदानस्थलको कोर एरियामा नेपाल प्रहरीको प्रमुख भूमिका हुन्छ। त्यसका लागि आवश्यक जनशक्ति परिचालन गरिसकेका छौँ,” उनले बताए।

यसका अतिरिक्त सशस्त्र प्रहरी बल र नेपाली सेनासँग समन्वय गरेर प्रत्येक मतदान केन्द्रमा बहु-घेराबन्दी सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान केन्द्रको बाहिरी घेरामा सशस्त्र प्रहरी, संवेदनशील क्षेत्रमा नेपाली सेना र भित्री घेरामा नेपाल प्रहरी परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ।

६४ उम्मेदवार, उच्च सुरक्षा निगरानी

चितवन जिल्लामा प्रतिनिधिसभाका तीन क्षेत्र छन्। क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ र ३ मा २३–२३ जना गरी जम्मा ६४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सबै उम्मेदवारसँग प्रहरी टोली नियमित सम्पर्क र समन्वयमा रहेको एसपी पुरीले बताए।

“हामीले प्रत्येक उम्मेदवारको ‘रिस्क फ्याक्टर’ विश्लेषण गरेका छौँ। सुरक्षा समितिको मापदण्ड अनुसार आवश्यक सुरक्षाकर्मी खटाइएको छ। कसैलाई पनि असुरक्षाको अनुभूति हुन दिइँदैन,” उनले स्पष्ट पारे।

‘बुथ क्याप्चर’को हल्ला मात्रै!

अघिल्ला निर्वाचनहरूमा देशका केही स्थानमा देखिएका बुथ कब्जा र फर्जी मतदानका घटनालाई ध्यानमा राख्दै चितवनमा कडा निगरानी राखिएको छ। तर यसपटक त्यस्तो कुनै सम्भावना नरहेको सुरक्षा प्रमुखको दाबी छ।

“बुथ कब्जाको सम्भावना त हुने कुरै भएन। सम्भावना होइन, हामी हुन दिँदैनौँ,” एसपी पुरीले कडा स्वरमा भने। “कसैले क्याप्चर हुन्छ भन्यो भने त्यो उहाँलाई लाग्ने कुरा होला, तर त्यो शंका मात्रै हो। कतै पनि बुथ क्याप्चर हुँदैन। फर्जी मत हाल्छु वा डिस्टर्बेन्स गर्छु भन्ने कसैले कल्पना नगर्दा हुन्छ।”

उनका अनुसार मतदानस्थलमा सीसीटीभी निगरानी, मोबाइल पेट्रोलिङ, रिजर्भ फोर्स तयारी अवस्थामा राख्ने लगायतका सम्पूर्ण सुरक्षा प्रोटोकल कार्यान्वयन गरिएको छ।

अहिलेसम्म शान्त वातावरण निर्वाचनको पूर्वसन्ध्यामा चितवनको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। “अहिलेसम्म कुनै असहज परिस्थिति सिर्जना भएको छैन। सामाजिक सञ्जालमा फैलाइने अफवाहप्रति पनि निगरानी बढाइएको छ,” एसपी पुरीले जानकारी दिए।

संवेदनशील क्षेत्रको पहिचान गरेर त्यहाँ थप जनशक्ति परिचालन गरिएको छ भने मतदानका दिन आकस्मिक अवस्था आए तत्काल नियन्त्रण लिन ‘क्विक रेस्पोन्स टिम’ तयारी अवस्थामा रहने बताइएको छ।

देशको ध्यान चितवनमा

चर्चित अनुहारहरूको प्रतिस्पर्धा, दलहरूको प्रतिष्ठाको लडाइँ र विगतका राजनीतिक घटनाक्रमका कारण चितवनको चुनावलाई यसपटक विशेष चासोका साथ हेरिएको छ। यही कारण सुरक्षा निकायले कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिन ‘जिरो टोलरेन्स’ नीति अपनाएको जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन भइसकेको सुरक्षा अधिकारीहरूको दाबी छ। अब मतदाताले निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण तयार रहेको उनीहरूको भनाइ छ।

चितवनमा यसपटकको चुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई सुरक्षा संयन्त्रको दक्षता र विश्वसनीयताको पनि परीक्षा बनेको छ। सुरक्षा निकायको कडा दाबी अनुसार—“चितवनमा बुथ क्याप्चर त परै जाओस्, सामान्य अव्यवस्था समेत हुन दिइँदैन।”

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles