प्रेस सेन्टर नेपाल पर्साले स्थापना गरेको दुई प्रतिष्ठित पत्रकारिता पुरस्कारबाट पत्रकार निरज पिठाकोटे मगर र बलिराम यादव सम्मानित भएका छन् । महान् शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित पुरस्कारमार्फत उनीहरूको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गरिएको जनाइएको छ ।
आज,शनिबार पर्साका वीरगञ्जमा आयोजित एक विशेष समारोहका बीच ‘कृष्ण सेन इच्छुक सम्मान पत्रकारिता पुरस्कार’बाट पत्रकार निरज पिठाकोटे मगर तथा ‘प्रेस सेन्टर नेपाल युवा क्रियाशील पत्रकारिता पुरस्कार’बाट पत्रकार बलिराम यादवलाई सम्मान गरिएका छन् । सम्मानित दुवै पत्रकारलाई जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्ला प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।
सम्मानित पत्रकार निरज पिठाकोटे मगर हाल कारोबार राष्ट्रिय आर्थिक दैनिक का मधेश प्रदेश संयोजक तथा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्षको जिम्मेवारीमा कार्यरत रहेको छन्। त्यसैगरी बलिराम यादव राष्ट्रिय फण्डा अनलाइन का सञ्चालक तथा प्रेस सेन्टर नेपाल पर्साका सक्रिय सदस्यका रूपमा पत्रकारितामा क्रियाशील रहेका छन्।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले सम्मान प्रदान गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमल गिरीले शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’ नेपाली पत्रकारिता क्षेत्रका प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गर्दै उनको नाममा स्थापित पुरस्कारका लागि योग्य पत्रकारहरूको छनोट भएको बताएका छन् । उनले सम्मानित पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सत्य, निष्पक्ष र जनपक्षीय पत्रकारितालाई अझ सशक्त बनाउन आग्रह गरेका छन् । साथै, कृष्ण सेनको हत्यामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही हुनुपर्ने माग दोहोर्याउँदै न्याय प्राप्तिका लागि पत्रकार समुदाय एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
वरिष्ठ सञ्चारकर्मी गोविन्द देवकोटाले शहीद पत्रकारहरूको त्याग र बलिदानबाट प्राप्त प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक उपलब्धिमाथि विभिन्न चुनौतीहरू थपिँदै गएको बताएका छन् । उनले पछिल्लो समय सञ्चारमाध्यमहरूले भोगिरहेको आर्थिक संकट र दबाबको सामना गर्न सञ्चारकर्मीहरू संगठित भएर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ । वक्ताहरूले पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै समाजलाई सूचना, सचेतना र जनसरोकारका विषयमा योगदान पुर्याउने पत्रकारहरूको सम्मानले पेशागत उत्साह बढ्ने विश्वास व्यक्त गरेका थिए।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव अजित कुमार भूजेलले सहजीकरण गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको जनाइएको छ ।


