सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल नेपाल का सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) गणेश ठाडा मगरले नेपाल–भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध नगर्ने स्पष्ट पारेका छन्।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस वर्ष मल आयातमा सहजीकरण गर्ने नीति लिइएको जानकारी दिएका छन् । उनका अनुसार सीमा सुरक्षा पोस्ट (बीओपी)लाई मल आयातमा रोक नलगाउने निर्देशन दिइएको छ।
‘मल आयातमा दुःख दिएको कतै जानकारीमा आए तुरुन्त कारबाही हुन्छ,’ उनले भने।
ठाडा मगरले खुला सीमाको फाइदा उठाउँदै मलको नाममा अन्य वस्तु तस्करी हुने गरेको उल्लेख गरेको हो।
उनका अनुसार मलको बोरा प्रयोग गरेर चिनी लगायतका वस्तु ल्याउने प्रवृत्ति देखिएकाले चेकजाँच भने निरन्तर भइरहेको छ।
नेपाल–भारतबीचको १ हजार ८४८ किलोमिटर खुला सीमामा ९४७ भन्दा बढी आवागमन मार्ग रहेको बताउँदै उनले सबै स्थानमा निगरानी गर्न जनशक्ति सीमित रहेको स्वीकार गरे।
सांसदहरूले भने किसानलाई मल ल्याउँदा दुःख दिइएको गुनासो गरेका थिए ।


