टोखा नगरपालिका–१० गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ नामको चिया पसलमा दुई युवकमाथि भएको आक्रमण घटनामा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा लमजुङको दूधपोखरी गाउँपालिका–५ का २० वर्षीय सुमित तामाङ, सोही ठाउँका २० वर्षकै सुसन तामाङ, धादिङको रुबीभ्याली गाउँपालिका–४ का २५ वर्षीय उम्बे गुरुङ भनिने उमेश घले र रुबीभ्याली–६ कै १९ वर्षीय कान्छा भनिने आशिष गुरुङ छन् ।उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।यो समूहले गत ३० भदौमा क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङ नाम गरेका युवकहरुलाई आक्रमण गरेका थिए ।
उनीहरुमाथि कुर्सी, हेल्मेट, रड र सीसाको बोतल प्रहार भएको थियो । हाल पक्राउ परेकाहरुविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकाले कारबाहीका लागि महाराजगञ्ज पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।