लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना नेपाल प्रहरीद्वारा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्लाको इनरूवा नगरपालिका–४ बसपार्कबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १४ ग्राम ३५ मिलिग्रामसहित ४ जनालाई हिजो शनिबार साँझ प्रहरीले पक्राउ गरेका छन् । मोरङ सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ३७ वर्षीय रोशन खड्का, ३२ वर्षीय लालबहादुर विक, धादिङ थाक्रे गाउँपालिका–१० बस्ने ३१ वर्षीय कुमार बिडारी र दोलखा मेलुङ गाउँपालिका–२ बस्ने ३३ वर्षीय राम आछामे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ परेका छन्”
त्यस्तै धनकुटा जिल्लाको धनकुटा नगरपालिका–१० उत्तर पानी डेरा गरी बस्ने सहिदभूमि गाउँपालिका–६ सुक्याल घर भएका २७ वर्षीय अशोक राईलाई ट्रामोल ६ सय १० ट्याब्लेट, स्पास्पेन ६० ट्याब्लेट, स्पास्मो ९४ ट्याब्लेट र टापेन्टाडोल १० ट्याब्लेटसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यता धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–९ मझिम्टारबाट गाँजा ४ किलो ८ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका–१५ बस्ने ३२ वर्षीय मिलन परियारलाई शनिबार दिउँसो नै,प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ८९०० नम्बरको माइक्रोमा सवार उदयपुरगढी गाउँपालिका– ७ हाडेबासबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६८ एम्पुल, डाईजेपाम ७२ एम्पुल र प्रोमेथाजाइन ६७ एम्पुल सहित त्रियुगा नगरपालिका–१० बोक्से बस्ने २३ वर्षीय सुजन राउतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–९ माछागढ बस्ने २९ वर्षीय लबिस सुनार र २७ वर्षीय सुशील चन्द रहेका छन् ।
त्यसैगरी कास्कीको पोखरा महानगरपालिका–१८ पिपलडालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८१ ट्याब्लेट सहित सोही महानगरपालिका–१८ लामगाउँ बस्ने २३ वर्षीय अमन श्रेष्ठ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उता झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ बस्ने २४ वर्षीय रामहरि सिलवाल र २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् ।


