रविन्द्र प्रसाद शर्मा
अहिले नेपाल प्रहरी संकटमा छ। राज्यको प्राथमिकतामा नेपाल प्रहरी कहिल्यै परेन। केवल उपयोगको वस्तु बनाइयो। भोलि के हुन्छ थाहा छैन। मेरा जीवनका ३० वर्ष यसै संगठनमा बितेको हुनाले अहिले ध्वस्त भएका संरचना र ती संरचना÷ब्यारेकमा बस्ने निम्नस्तरका प्रहरी कर्मचारीहरूले भोगी रहेको पीडामा म अगवत छु। ब्यारेक नै आफ्नो घर मानी बसेका प्रहरीहरूलाई अरु त के, बिहानको नित्यकर्ममा आवश्यक पर्ने मन्जन, ब्रस, साबुन, ब्लेड जस्ता कुराहरू पनि जुटाउन सक्ने क्षमता छैन। त्यसैले सर्वप्रथम प्रहरी कर्मचारीहरूलाई आफ्नो ड्युटीमा जानको लागि आवश्यक न्यूनतम कुराहरूको व्यवस्थापन हुन अति आवश्यक छ।
हामीसँग प्रहरी कल्याण कोष पनि छ, महानिरीक्षकज्यूको ध्यान गएकै होला। तथापि, म पूर्व प्रहरी कर्मचारीको हैसियतले आगलागीमा परेका ब्यारेकमा बस्ने प्रहरी कर्मचारीहरूको दैनिकी सामान्यीकरण गर्न केही सहयोग होस् भनी मेरो तर्फबाट रु ५०,०००÷– (पचास हजार) प्रदान गर्ने निर्णय गरेको छु। जानकारी पाउँ जुनसुकै माध्यमबाट उपलब्ध गराउन तत्पर छु। ध्वस्त संरचनाको पुनःनिर्माण, प्रहरी नियमावली बमोजिम उपलब्ध हुने सुविधा र आपतकालीन प्रबन्धको जिम्मेवारी राज्यले अवश्य नै लिनेछ।
संकटमा परेका सहकर्मीलाई सक्दो सहयोग गर्नु मेरो कर्तव्य र जिम्मेवारी पनि हो। एकल व्यक्तिको प्रयासले केही हुन सक्दैन। यस संकटको घडीमा सेवारत र सेवा निवृत्त प्रहरी कर्मचारीहरूलाई एकाकार गरी सहयोग गर्ने वातावरण सिर्जना गर्ने जिम्मेवारी प्रहरी महानिरीक्षकको हो, अवश्य नै गर्नुहुनेछ। तर ढिलो भइसकेको छ।
वैयक्तिक स्वतन्त्रताको अपहरण, कुशासन र भ्रष्टाचारको विरुद्धमा न्भल–श् ले उठाएको आवाजमा मेरो एकवद्धता छ। देशका होनहार युवाहरू र कर्तव्यपरायण प्रहरीहरूले ज्यान गुमाउनु राज्यको लागि दुर्भाग्यपूर्ण क्षण हो। यसलाई कदापि राम्रो मान्न सकिँदैन। त्रुटी दुवै तर्फबाट भएको छ। घाटीमा गाँड आयो भने त्यो गाँडलाई फालेर जीवन रक्षा गर्ने हो, घाटी काट्ने होइन। कुनै प्रहरी कर्मचारीले गल्ती गर्यो भने त्यसैलाई सजायको भागी बनाउनु पर्दछ, पुरै संगठनलाई होइन, यसले समस्याको निकास गर्दैन, झनै बढाउँछ।
एक दिन मात्र प्रहरीको अनुपस्थितिले कस्तो अवस्था हुंदो रहेछ भन्ने कुरा भाद्र २४ को दिनले देखाइसकेको छ। इराकमा १२ जना नेपालीहरूलाई आतंककारी गुट अन्सार अल सुन्नाले मारेको आक्रोशमा २०६१ भाद्र १६ गते भड्किएको नेतृत्वविहीन भिडले करिब ६ घण्टाको अवधिमा कति विध्वंस गरेको थियो भन्ने कुरा हामीले बिर्सिएछौं। उक्त घटनाको छानबिनमा म पनि थिएँ। हामीले दिएका सुझावहरू २४ गतेसम्म आउँदा पूर्ण रूपमा उपेक्षा गरिएछ। कारण फरक भए पनि ःयद एकथअजययिनथ एकै प्रकृतिको छ। उस्तै तरिकाले विध्वंस भएको छ, त्यतिबेला मेनपावर व्यवसायी निशानामा थिए, अहिले प्रहरी मात्र होइन सिंहदरबार र शीतल निवास पनि सुरक्षित हुन सकेन, खण्डहर बन्यो। देश निरिह बन्यो। सिंहदरबार र शीतल निवास पनि सुरक्षा गर्न नसक्ने हाम्रो राज्य संयन्त्रले आफ्नै मूल्याङ्कन कसरी गर्छ, भविष्यले बताउला।
२०६१ भाद्र १६ गतेको घटनामा संलग्नहरूलाई कारवाही नहुनुको परिणामले भाद्र २४ को घटना निम्तायो। कानुनी प्रश्न आ–आफ्नो व्याख्या होला, आवश्यकताले राज्यले नयाँ प्रधानमन्त्री पाएको छ। नागरिक सरकार गठन हुँदैछ। सबैको सहयोग आवश्यक छ, सहयोग गर्नु पर्दछ। कति निष्पक्ष र कति पूर्वाग्रही भन्ने कुरा सम्पादित कामले नै देखाउनेछ।
अहिले मेरो विषय भनेको अमर प्रहरी, प्रहरी कार्यालय÷ब्यारेकविहीन प्रहरी र घटनामा ज्यान गुमाएका कलिला युवाहरूको परिवारले उपेक्षित भएको महसुस गर्नु कदापि राम्रो होइन। श्रद्धाञ्जली र समवेदनाले मात्र पीडितको पीडालाई सम्बोधन गर्दैन। संपूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरूलाई यस घडीमा आग्रह गर्न चाहन्छु—तपाईंहरूले जसलाई चाहनुहुन्छ, जे–जति सक्नुहुन्छ, यो विपद्को घडीमा सहयोग गरौं। सबै तिक्तता बिर्सेर मानवीय सहयोगमा एकाकार होऔं।