Thursday, October 9, 2025

भारतको राजधानी दिल्लीमा सोमबार राति भएको प्रहरी इन्काउन्टरमा एक नेपाली नागरिक भीम जोरा मारिएका छन्।

ताजा / भरखरै प्राप्त

उनलाई भारतीय प्रहरीले कुख्यात अपराधीका रूपमा चिनाउँदै विभिन्न हत्या, डकैती र चोरीका घटनामा संलग्न रहेको बताएको छ।

भारतीय समाचार माध्यम टाइम्स अफ इन्डियाका अनुसार दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा गुडगाउँ र दिल्ली प्रहरीले संयुक्त रूपमा गरेको कारबाहीमा जोरा मारिएका हुन्। प्रहरीसँग भएको गोली हानाहानमा जोरा गम्भीर घाइते भएका थिए र उनलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

भारतीय प्रहरीका अनुसार जोरा प्रमुख भारतीय शहरहरूमा सक्रिय एउटा नेपाली गिरोहका नेता थिए। उनीविरुद्ध भारतका विभिन्न राज्यहरूमा मुद्दा दर्ता भएका थिए। जोराको टिमले वर्षौंदेखि उच्चवर्गीय परिवारहरूका घरमा कामदारका रूपमा घुस्ने, नशालु पदार्थ प्रयोग गरी लुटपाट गर्ने र मूल्यवान सामान लिएर नेपाल फर्किने गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दिल्ली प्रहरीले जोराको टाउकोमा एक लाख भारतीय रुपैयाँ पुरस्कार समेत तोकेको थियो। उनी २०२४ को मे महिनामा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँस्थित भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको करिब २० लाख रुपैयाँको चोरी घटनाका मुख्य योजनाकार रहेको आरोपमा खोजी सूचीमा रहेका थिए।

गुडगाउँ प्रहरीका उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा गरिएको सोमबार रातिको कारबाहीमा जोराले प्रहरीमाथि गोली चलाएका थिए। जवाफी कारबाहीमा लागेका प्रहरी इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भए पनि जोरा गम्भीर घाइते भएका थिए। उनलाई एम्स ट्रमा सेन्टरमा पुर्‍याइएपछि मृत घोषणा गरिएको भारतीय प्रहरीको बयानमा उल्लेख छ।

इन्काउन्टरका क्रममा जोरासँगै रहेका एक सहयोगी भने भाग्न सफल भएका छन्। यसअघि गुडगाउँ प्रहरीले चोरीमा संलग्न जोराका सहयोगी युवराज थापालाई पक्राउ गरेको थियो, जसको बयानपछि भीम जोराको संलग्नता खुलेको थियो।

जोरा सन् २०१४ मा सूरत, २०२२ मा कर्नाटक र गाजियाबादमा भएका चोरी तथा हत्या घटनामा पनि संलग्न रहेको भारतीय प्रहरीले जनाएको छ। उनका गिरोहका सदस्यहरूले नक्कली आधार कार्ड प्रयोग गरी धनी घरहरूमा घरेलु कामदारका रूपमा प्रवेश गर्थे, त्यसपछि घरधनीलाई बन्धक बनाएर वा बेहोस पारेर मूल्यवान वस्तु चोरी गर्थे।

डाक्टर योगेशचन्द्र पौलको हत्या पनि यस्तै योजनाअनुसार गरिएको थियो। जांगपुरा एक्सटेन्सनस्थित डाक्टर पौलको भान्सामा लुटपाट गर्ने क्रममा उनको घाँटी अठ्याएर हत्या गरिएको थियो। अनुसन्धानका क्रममा डाक्टरको लामो समयदेखि काम गर्दै आएकी घरेलु कामदार बसन्तीले गिरोहलाई सहयोग गरेकी थिइन्।

भारतीय प्रहरीले जोराको मृत्युपछि गिरोहका बाँकी सदस्यहरूको खोजी तीव्र बनाएको जनाएको छ। दिल्ली र हरियाणाका विभिन्न क्षेत्रमा प्रहरीको विशेष निगरानी बढाइएको छ।

प्रहरीका अनुसार जोराको मृत्युले पछिल्ला वर्षहरूमा भारतमा सक्रिय नेपाली अपराध नेटवर्कमाथि कडा निगरानीको आवश्यकता देखाएको छ। Loktantra Nepal 🇳🇵

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles