मासिक करिब २४ लाख नब्बे हजार रुपैयाँ उठाइने गरेको तथ्य
सर्लाही । बारामा प्रहरीकै संरक्षणमा तस्करी फस्टाएको खुलासा भएको छ । यसमा विशेषगरी घुमुवा प्रहरी बरिष्ठ नायब निरीक्षक(बरिष्ठ सई) अरुणकुमार यादवको नाम अगाडि आएको छ ।दरबन्दी सिरहा भए पनि यादवलाई दरबन्दी नपठाई बरु बारा जिल्लाभर तस्करी असुली मिलाउने जिम्मेवारी एसपी सन्तोष तामाङले दिएका छन् ।
मटिअर्वामा चौकी इन्चार्ज हुँदा नै यादवले कबाडी व्यवसायीसँग साझेदारीमा कारोबार गरेका थिए भने तस्करहरूसँग मिलेर आफैं संलग्न भएको तथ्य बाहिरिएको थियो ।विभिन्न आरोप लागेपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो, तर भित्रभित्रैको चलखेल र पैसाको बलमा केही समयमै भारतसँग सीमा जोडिएको छतवा चौकीमा फेरि पठाइएको थियो ।
छतवामा पुगेपछि पनि यादवले पुरानै शैलीमा तस्करीलाई संरक्षण गरे र आफैं पनि धन्दामा प्रत्यक्ष संलग्न भए । शान्ति सुरक्षाभन्दा बढी तस्करीलाई प्राथमिकतामा देखेपछि स्थानीयले विरोध गरे र विरोध चर्किएपछि उनलाई पुनः जिल्ला कार्यालयमा तानियो ।
तर त्यहाँ पनि उनले काम रोकेनन्, बरु जिल्लामै बसेर सीमा नजिकका युनिट इन्चार्जहरूसँग मिलेर असुलीको नेटवर्क सञ्चालन गरिरहेको खुलेको छ ।
प्रहरी स्रोतका अनुसार, सिम्रौनगढ नाकाबाट कपडा, किराना र चिनी तस्करी गर्न मासिक दुई लाख पचासी हजार असुली हुने गरेको छ भने कहवीगोठ नाकाबाट फुल, किराना र चिनी तस्करी गर्न पाँच लाख दश हजार असुली लिइने गरेको छ ।
मटिअर्वाबाट कपडा र रजनीगन्धा पार गर्दा छ लाख पञ्चासी हजार असुली हुने गरेको छ भने मुसहर्वाबाट कपडा, किराना, हार्डवेयर, कुखुराका चल्ला, मटर, चिनी, काजु, रजनीगन्धा र फुल तस्करी गर्दा मासिक छ लाख पैंतीस हजार असुली लिइएको पाइएको छ । त्यस्तै छतवाबाट कपडा, कस्मेटिक, काजु र कुखुराका चल्ला तस्करी गर्दा तीन लाख पैंसठ्ठी हजार असुली हुने तथ्य समेत बाहिर आएको छ ।
यी सबै नाकामार्फत् मात्रै जिल्लाभर मासिक करिब २४ लाख नब्बे हजार रुपैयाँ उठाइने गरेको तथ्य खुलेको छ ।यो रकम जिल्ला प्रहरी कार्यालयमै पुग्ने गरेको र यसमा सई यादवलाई प्रहरी उपरीक्षक सन्तोष तामाङको भरपूर साथ रहेको स्रोतको दाबी छ ।असुलीको सञ्जाल सञ्चालनमा बरिष्ठ सई अरुण यादवमात्र नभई एक बिचौलियासमेत जोडिएका छन् ।
प्रहरीकै संलग्नतामा खुलेआम तस्करीले बारामा शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । स्थानीयवासीहरू आक्रोशित हुँदै प्रहरी संगठनकै छवि धमिलो बनेको भन्दै कडा प्रतिक्रिया दिइरहेका छन् ।
उनीहरूले ‘तस्करी नियन्त्रण गर्ने प्रहरी आफैं संलग्न हुनु घोर आपराधिक’ भन्दै तत्काल अरुण यादवलाई झिकाई सोधपुछ गर्न, छानबिन गरेर आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । अनलाइन नेपालबाट ।