वीरगञ्ज ।
पटेर्वा सुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चौधरीले आफूले वीरगञ्जका क्यासिनोमा जुवा खेलेर रकम हारेको भन्ने समाचारको खण्डन गरेका छन् ।
अंकुश डेलीसँग कुरा गर्दै चौधरीले भने, “म एक–दुई पटक साथीभाइहरूसँग घुम्न मात्र क्यासिनो गएको हुँ, तर मैले त्यहाँ कुनै पनि प्रकारको जुवा खेलेको छैन । छ करोड रुपैयाँ हारेको भन्ने कुरा पूर्ण रूपमा गलत र निराधार हो।”
अंकुश डेली डटकममा ३ कात्तिक २०८२ मा प्रकाशित ‘वीरगञ्जका क्यासिनोमा नेपालीको निर्बाध प्रवेश, पूर्व अध्यक्ष चौधरीले हारे छ करोड’ शीर्षकको समाचारप्रति प्रतिक्रिया जनाउँदै चौधरीले उक्त समाचारमा उल्लेखित तथ्यहरू आधारहीन रहेको बताए।
उनले थपे, “शेढवास्थित मेरो जग्गा मैले आफ्नै कमाइबाट किनेको हुँ। अहिले त्यो जग्गा म व्यक्तिगत प्रयोजनका लागि बेच्ने सोचमा छु, त्यसलाई क्यासिनो वा ऋणसँग जोड्नु गलत हो।”
उनले यस्ता अफवाहहरूले आफ्नो व्यक्तिगत इज्जत र सामाजिक प्रतिष्ठामाथि आघात पुर्याएको बताएका छन् ।