


“एकाइसौँ शताब्दीमा पनि काठमाडौंमा परम्परागत ढङ्गबाट सवारी व्यवस्थापन गरिरहेका छौँ एआईजी दान कार्की ।
काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले उक्त ट्राफिक लाइटको उद्घाटन गरे । उनले अहिलेको समयमा पनि ट्राफिक प्रहरीले सडकमा हात हल्लाएर सवारी व्यवस्थापन गर्नु परिरहेको उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापन सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले भने, “एकाइसौँ शताब्दीमा हामी अझै पनि परम्परागत ढङ्गबाट सवारी व्यवस्थापन गरिरहेका छौँ । ट्राफिक लाइटको प्रयोगले व्यवस्थापनमा गुणात्मक सुधार ल्याउनेछ । सवारी दुर्घटना घटाउन, सहरी ट्राफिकलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न यस्ता प्रविधि अपरिहार्य छन् ।”
एआईजी कार्कीले समाजमा शान्तिसुरक्षामा खलल पुर्याउने, अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा नछाडिने स्पष्ट पारे । उनले पछिल्लो समय ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी संरचनामा भएको क्षति तथा प्रहरीको हतियार लुटिएको विषय गम्भीर अपराध भएको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए ।
“हामी अनुरोध गर्छौँ, लुटिएका हतियार प्रहरीलाई फिर्ता गर्नुहोस् । सुध्रिन मौका छ, तर अपराधमा संलग्न जोसुकै होस्, कानूनी कारबाहीबाट उन्मुक्ति हुँदैन”, प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भनेको हो ।