





पर्साका वीरगञ्ज महानगरको घडिअर्वा पोखरी सजावट ९०% भई सकेको जनाइएको छ ।
तिहार-दीपावलीको समापन भएसँगै तराई-मधेसमा महापर्व छठ को धमाधम तयारी सुरु गरिएको छ । सूर्य उदय र छठी माताको आराधनाका रूपमा मनाइने छठ पर्वको अवसरमा तराईमा पोखरी, नदी र तलाउहरूमा पूजाका लागि सरसफाइ, घाट निर्माण र सजावटको काम तीव्र गतिमा अघि बढाइएको बताइएको छ ।
जलाशयमै अर्घ्य र व्रत अनुष्ठान सम्पन्न गर्ने परम्परा भएकाले विभिन्न छठघाटहरूमा माटो सम्याउने, बाँस–काठको संरचना तयार पार्ने, बाटो मर्मत गर्ने र रंगोलीसहित आकर्षक बत्ती तथा पण्डाल निर्माणको काम गरिन्छ । समितिहरूले सुरक्षा, ध्वनि प्रणाली र स्वच्छ पानीको व्यवस्था पनि प्राथमिकताका रूपमा अघि बढाएको बताउँछन् ।
देशको प्रमुख छठस्थलका रूपमा चिनिने वीरगञ्जको घडिअर्वा पोखरी पार्कमा विशेष तयारी भएको छ ।
पर्साको बिरगंज महानगरका पोखरीहरु नगवा, मुर्ली, रानीघाट, लक्ष्मनवा घाट लगायतका प्रमुख जलाशयहरूमा पनि सरसफाइ अभियान, माटो सम्याउने र पथ मर्मतका काम जारी रहेको छ । पर्सा जिल्लाका गाउँ-गाउँमा स्थानीय युवाहरू, स्वयंसेवक र समुदायका सक्रिय सहभागितामा पोखरी तथा नदी किनारमा छठघाट निर्माण, पण्डाल सजावट र प्रकाश व्यवस्थापनमा व्यस्त रहेका छन् ।
चार दिनसम्म चल्ने छठ पर्व शुद्धता, संयम र आस्थाको प्रतीक मानिन्छ । व्रती महिलाहरूले पानीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ । ब्रतालुहरू उपवास, स्नान, डुबुल्की र सूर्य आराधनाका कठोर नियमहरू पालना गर्दै पूजा अर्चना गर्छन् ।
छठ पर्व कार्तिक शुक्ल पक्षको चतुर्थी तिथिदेखि सुरु भएर बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न हुन्छ ।
यस वर्ष छठ पर्व कार्तिक १० र ११ गते मनाइने भएको जनाइएको छ ।
छठ पुजा चार चरणमा हुने, परम्पराहरु पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व समाप्त गर्ने घार्मिक परम्परा रहेको छ ।
दीपावली सकिएलगत्तै बजारहरूमा पूजन सामग्री, फलफूल, कपडा, भाँडाकुडा, तेल, मसला र खाद्यान्न खरिद गर्न उपभोक्ताको भीड बढेको छ । वीरगञ्ज, कलैया, सिमरा, जनकपुर, राजविराज, लहान र मलंगवा लगायतका शहरहरूमा छठका लागि चाहिने वस्तुहरू किन्न सर्वसाधारणको भीड लाग्न थालेको छ । मधेस-प्रदेशका जिल्लाहरुको शहरदेखि गाउँ-गाउँसम्म छठको माहोलले उत्सवमय बनेको देखिएको छ । बजारहरूमा चहलपहल, घाटहरूमा सरसफाइ र सजावट, र घर–घरमा पूजाको सम्पूर्ण तयारी गरिनेछ ।


