





प्रहलाद चौरसिया
मंसिर २१, वीरगन्ज
मुआब्जा संघर्ष समिति वीरगन्जले वीरगन्ज भन्सार कार्यालय ड्राइपोर्ट स्रिसियाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।
वीरगन्ज महानगरपालिका वडा नं २५ श्रीसिया स्थित ड्राइपोर्ट सुख्खा बन्दरगाहको विस्तारको लागि नेपाल सरकारद्वारा अधिग्रहण गरिएको गाउँ बस्ति लगायतको ६२ बिगाहा जग्गा र उक्त जग्गाहरूमा रहेको भौतिक संरचनाहरुको मुआब्जा भुक्तानीमा ढिलाई भइरहेकोले आईतबार संघर्ष समितिका अध्यक्ष अशोक कुमार चौधरीले ज्ञापनपत्र बुझाएका हुन्।
“अघिदेखि कट्टा हुँदै गरेको लाभांश २.५ प्रतिशत बाट बढाई ५ प्रतिशत कायम गरिएको विरोधमा बन्दरगाहको गेटमा धर्ना बसी भन्सार कार्यालय र संघर्ष समिति विच २०८० साल असोज १८ गते असोज मसान्तसम्ममा सबै मुआब्जा भुक्तानी गर्ने लगायतका ३ बुँदे सहमति भएको थियो।” विज्ञप्तिमा उल्लेख गरिको छ।
३ बुँदे सहमति पछि संघर्षका सबै कार्यक्रमहरु स्थगित गरी उक्त निर्णय कार्यान्वयनका लागि पटकपटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि हालसम्म कुनै सुनुवाई नभएकोले बाध्य भएर ड्राइपोर्ट भन्सार मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको युवा नेता प्रकाश साहले जानकारी दिए।
यस्तै समितिले ज्ञापनपत्र बुझाउँदै एक हप्ताको भित्रमा सहमति अनुसारको कार्य नभए संघर्ष समितिले मंसिर २९ गतेदेखि भन्सार कार्यालयको मुल गेट अगाडि शान्तिपूर्ण आन्दोलन बस्ने र यसबाट हुने क्षतिको जिम्मेवार स्वयम् नेपाल सरकार नै हुने चेतावनी दिएको छ।


