Thursday, February 26, 2026

पर्साका वीरगञ्जमा सूचना बिना तरकारी बजार र डोम बस्ती हटाइयो:-

ताजा / भरखरै प्राप्त

पर्सा वीरगञ्जको महानगरपालिकाको ऐतिहासिक घण्टाघर अगाडि अवस्थित बीपी उद्यान पार्कभित्र लामो समयदेखि सञ्चालन हुँदै आएको तरकारी बजार तथा त्यही क्षेत्रमा बसोबास गर्दै आएको डोम समुदायको बस्ती आज अचानक हटाइएको व्यवसायहरु बताउँछन् ।

कुनै पूर्वसूचना वा वैकल्पिक व्यवस्थाबिना महानगरपालिकाले डोजर प्रयोग गरी हटाएपछि स्थानीय तरकारी व्यवसायी तथा प्रभावित परिवारहरू आक्रोशित बनेका छन्।

व्यवसायीहरूका अनुसार आज बिहान अचानक नगर प्रहरी र महानगरपालिकाको टोली आएर जबर्जस्ती बजार हटाइएको बताएका छन् । यस क्रममा तरकारी व्यवसायीहरूको सामग्री क्षति हुनुका साथै दैनिक जीविकोपार्जनमा समेत गम्भीर असर परेको उनीहरूको गुनासो रहेको छ । उनीहरूको भनाइ “हामी यही बजारबाट परिवार पाल्दै आएका थियौं, तर कुनै जानकारी नदिई हटाइयो,” एक व्यवसायीले बताएका छन् ।

यस्तै, सो क्षेत्रमा बसोबास गर्दै आएको डोम समुदायको बस्ती हटाउँदा वैकल्पिक बसोबासको व्यवस्था नगरेको भन्दै प्रभावित परिवारहरू चिन्तित बनेका छन् । उनीहरूका अनुसार वर्षौंदेखि बसोबास गर्दै आएको स्थान एकाएक हटाउँदा आफूहरू खुला आकाशमुनि बस्न बाध्य भएको अवस्था रहेको छ ।

घटनापछि आक्रोशित तरकारी व्यवसायीहरूले वीरगञ्ज महानगरपालिका कार्यालय तथा नगरप्रमुख (मेयर) को विरोधमा नाराबाजी गरेका छन्। उनीहरूले पूर्वसूचना बिना गरिएको हटाइ तत्काल बन्द गर्न, क्षतिपूर्ति उपलब्ध गराउन र वैकल्पिक बजार तथा बासस्थानको व्यवस्था गर्न माग गरेका छन्।

व्यवसायी तथा स्थानीयवासीहरूले महानगरपालिकाको यो कदम अमानवीय र गैरजिम्मेवारपूर्ण भएको आरोप लगाउँदै समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles