Tuesday, February 3, 2026

पर्साका राजकुमार गुप्तालाई थुनामा पठाउने अदालतको आदेश:-

ताजा / भरखरै प्राप्त

पोखराको चर्चित लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश भएको बताइएको छ । आज बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले राजकुमार गुप्तालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोगअनुसार तत्कालीन मन्त्री गुप्ताले कास्की जिल्ला स्थित पोखराको मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको बताइन्छ । यही आधारमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

अख्तियारका अनुसार गुप्ता र तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठबीच आपसी मिलेमतो भई पदको दुरुपयोग गरिएको र कार्य सुविधा उपलब्ध गराउने नाममा २५ लाख रुपैयाँ घुस लिएको अभियोग छ । आयोगले गत असोज २२ गते गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसमा पूर्वमन्त्री श्रेष्ठसमेत मुछिएकी छन् ।

यस प्रकरणमा दुई जनाबीच भएको अडिओ संवाद सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। सार्वजनिक अडिओमा बिचौलियाले मन्त्री गुप्तासँग ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ लाख राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला’ भन्ने अभिव्यक्ति दिएको सुनिन्छ ।

विशेष अदालतको थुनामा पठाउने आदेशसँगै लिचीबारी भ्रष्टाचार प्रकरणले नयाँ मोड लिएको जनाइएको छ । अब राजकुमार गुप्ताले थुनामै रहेर मुद्दाको सुनुवाइ अगाडि बढ्नेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles