Sunday, May 31, 2026

धनुषाको सखुवा मनारस्थित मस्जिदमा तोडफोड र पवित्र कुरान जलाइएको घटनाविरुद्ध वीरगञ्जसहित देशभर मुस्लिम समुदायको आक्रोशपूर्ण प्रदर्शन:-

ताजा / भरखरै प्राप्त

वीरगञ्ज, २० पुस
धनुषा जिल्लाको कमला नगरपालिका–६ सखुवा मनार (सखुवा मरान) गाउँको मुस्लिम टोलमा अवस्थित मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी पवित्र कुरान जलाएको घटनाको विरोधमा वीरगञ्जसहित देशका विभिन्न भागमा मुस्लिम समुदायले आइतबार बिहानदेखि व्यापक प्रदर्शन गरेका छन्।

मस्जिदमाथि गरिएको आक्रमणको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई तीव्र रूपमा भाइरल भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो। घटनालाई धार्मिक आस्थामाथिको गम्भीर आक्रमण ठहर गर्दै उनीहरूले दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।

वीरगञ्जका घण्टाघर, मुर्ली, छपकैया तथा इदगाह चोकलगायतका क्षेत्रमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा उनीहरूले टायर बाल्दै “कुरान जलाउन पाइँदैन”, “अल्पसङ्ख्यकमाथिको दमन बन्द गर”, “मस्जिद आक्रमणकर्तामाथि कारबाही गर” तथा “प्रहरी–प्रशासन मुर्दावाद” जस्ता नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा छपकैया स्थित इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ। झडपका क्रममा एक जना प्रहरी सामान्य घाइते भएका छन्।

यसै क्रममा आक्रोशित प्रदर्शनकारीहरूले छपकैया स्थित श्रीराम हल नजिकै रहेको प्रहरी बिटमा तोडफोडसमेत गरेका छन्। घटनापछि स्थानीय प्रशासनले सुरक्षाको अवस्था कडा बनाएको छ।

छपकैया मदरसाका मौलाना असगर मदमीले उक्त घटनालाई धार्मिक सद्भाव भड्काउने नियतले गरिएको आपराधिक कार्य भएको बताउँदै दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

त्यस्तै नेपाल मुस्लिम समाज सङ्घ पर्साका अध्यक्ष भएको दाबी गर्ने महबुब अली (शेरु) ले दोषीहरूमाथि शीघ्र कारबाही नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

घटनापछि जिल्ला प्रशासन कार्यालयले मस्जिदमा भएको तोडफोड र कुरान जलाइएको विषयमा छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles