पर्सा । प्रहरी प्रमुख दान बहादुर कार्की ले पर्सामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित अत्याधुनिक सेवा केन्द्र भवनको उद्घाटन गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा निर्माण गरिएको उक्त भवन बुधबार एक विशेष कार्यक्रमबीच औपचारिक रूपमा सञ्चालनमा ल्याइएको जनाइएको छ ।

नेपाल प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने उद्देश्यसहित निर्माण गरिएको “महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” को उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कार्कीले संवेदनशील वर्गलाई दिइने सेवा अझ संवेदनशील, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् ।
उद्घाटनपछि भवनको अवलोकन गर्दै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू समाजका अत्यन्त संवेदनशील वर्ग भएकाले उनीहरूको समस्या सुन्ने, न्यायमा पहुँच दिलाउने र सुरक्षाको प्रत्याभूति दिने कार्यमा खटिने प्रहरी कर्मचारीसमेत उत्तिकै जिम्मेवार र संवेदनशील हुनुपर्ने बताएका छन् ।

उनले भने, “नागरिकको विश्वास जित्ने प्रहरी संगठन निर्माणका लागि भौतिक पूर्वाधारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । आधुनिक र विशिष्टीकृत भवन सञ्चालनमा आएसँगै सेवाग्राहीले सहज, छिटोछरितो र प्रविधिमैत्री सेवा पाउने विश्वास लिएको छु ।”
आईजीपी कार्कीले नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धिमा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको योगदान उल्लेखनीय रहेको भन्दै United Nations Office for Project Services ले भौतिक पूर्वाधार विकासमा खेलेको सहयोगी भूमिकाको खुलेर प्रशंसा गरेका छन् ।
कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूलाई प्रहरी महानिरीक्षक कार्कीले प्रशंसापत्र समेत प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले नयाँ भवन सञ्चालनमा आएसँगै महिला, बालबालिका र ज्येष्ठ नागरिकले न्यायिक तथा सुरक्षासम्बन्धी सेवा लिन थप सहज वातावरण प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलिया ले धन्यवाद मन्तव्य व्यक्त गर्दै समुदाय र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । कार्यक्रममा UNOPS का अपरेसन कोअर्डिनेटर तथा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपाने ले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ इन्जिनियर शिशिर उपाध्याय ले भवन निर्माणसम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
UNOPS को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन २ करोड १ लाख ७४ हजार ४ सय ६ रुपैयाँ ५ पैसाको लागतमा तयार गरिएको जनाइएको छ ।प्रहरी स्रोतका अनुसार भवनमा महिला तथा बालमैत्री सेवा कक्ष, गोप्य परामर्श कक्ष, ज्येष्ठ नागरिक सहायता डेस्क, डिजिटल अभिलेखीकरण प्रणाली लगायतका सुविधा समावेश गरिएको छ ।
उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख, इमतेयाज समानी, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ ।


