पर्सा प्रहरीले सञ्चालन गरिरहेको लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान अन्तर्गत वीरगञ्जबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएका युवकको साथबाट खैरो हेरोइनजस्तो देखिने लागुऔषध बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार दिउँसो करिब १ बजेर १० मिनेटको समयमा वीरगञ्ज महानगरपालिका–१५ स्थित भिस्वा चोक क्षेत्रमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती तथा निगरानी गरिरहेको थियो। सोही क्रममा सडकखण्ड हुँदै हिँडिरहेका एक युवकले प्रहरी टोलीलाई देख्नेबित्तिकै शंकास्पद रूपमा भाग्ने प्रयास गरेका थिए।
युवकको गतिविधि अस्वाभाविक देखिएपछि प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिई कानुनबमोजिम शरीर तथा साथमा रहेको सामग्रीको खानतलासी गरेको थियो। तलासीका क्रममा उनले लगाएको पाइन्टको खल्तीमा प्लास्टिकमा बेरेर लुकाइराखिएको खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने व्यक्ति वीरगञ्ज महानगरपालिका–१५ भिस्वा निवासी २१ वर्षीय ऋतिक साह रहेको प्रहरीले जनाएको छ। उनको साथबाट प्लास्टिकसहित ०.६१ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ।
बरामद पदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षण तथा अनुसन्धानका लागि सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका साहविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ।
पर्सा प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ। युवापुस्तामा बढ्दो लागुऔषध दुव्र्यसनलाई नियन्त्रण गर्नुका साथै लागुऔषधको ओसारपसार, बिक्रीवितरण तथा सेवनमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार लागुऔषध सम्बन्धी गतिविधिविरुद्ध प्रहरीको अभियान निरन्तर जारी रहनेछ। साथै, यस्ता अवैध क्रियाकलापबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई सूचना उपलब्ध गराई सहयोग गर्न सर्वसाधारणहरुसँग आग्रह पनि पर्सा प्रहरीले गरेको छ ।


