Sunday, May 31, 2026

बाराका सीमावर्ती नाकामा खुलेआम तस्करी :-

ताजा / भरखरै प्राप्त

नेपाल–भारत सीमावर्ती बारा जिल्लाका विभिन्न नाकाबाट पछिल्ला तीन सातायता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकै संरक्षणमा व्यापक तस्करी धन्दा सञ्चालन भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। सीमाक्षेत्रमा खटिएका सुरक्षा निकायका केही जिम्मेवार अधिकारीहरू नै तस्कर समूहसँग ‘सेटिङ’मा रहेको आरोप लागेपछि स्थानीयवासी र व्यवसायी वृत्तमा तीव्र असन्तोष बढेको छ।
विशेषगरी कबही क्षेत्रको नाकाबाट कपडाको ठूलो परिमाणमा तस्करी भइरहेको स्रोतहरूको दाबी छ। स्थानीय स्रोतका अनुसार उक्त नाकाबाट दैनिक रूपमा भारतीय बजार रक्साैल, घोडासहनबाट ल्याइने कपडा नेपाल भित्र्याउने काम खुलेआम चलिरहेको छ । तस्करीको लाइन पाउनेहरूमा सभारक, मुकेश, घनश्याम, सुरज र चन्दन भन्ने सरोज श्रीवास्तव सक्रिय रहेको बताइएको छ। स्थानीयका अनुसार यी समूहले रातको समयमा मात्र होइन, दिनदहाडै समेत मालवस्तु ओसारपसार गर्दै आएका छन् । तर सीमामा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई रोक्नेभन्दा संरक्षण गर्ने काम गरिरहेको आरोप छ।
सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि राज्यले सशस्त्र प्रहरी बललाई प्रमुख जिम्मेवारी दिएको
छ । प्रहरी चाैकी मटिअर्वाका तर स्थानीय स्रोतहरूका अनुसार उनले तस्करी नियन्त्रणमा प्रभावकारी चासो नदिएको आरोप बढ्दो छ।


“तस्करी रोक्न भन्दा लाइन मिलाउने काम बढी भइरहेको छ,” सीमावर्ती क्षेत्रका एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, “कुन बेला कुन गाडी आउने भन्ने जानकारी सुरक्षाकर्मीलाई पहिल्यै हुन्छ, तर नियन्त्रण हुँदैन।”स्रोतहरूका अनुसार ‘सरार्फ’ थरका एक प्रभावशाली व्यक्तिले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै निकायका एसपी तहसम्म पहुँच बनाएर तस्करीको लाइन सुरक्षित बनाइदिएको चर्चा तस्कर समूहभित्रै हुने गरेको छ । सीमाक्षेत्रमा सक्रिय कारोबारीहरू नै “माथिसम्म मिलाइएको” भन्दै खुलेआम माल ओसार्ने गरेको बताइन्छ।
कवही नाका मात्रै होइन, सिम्रौनगढ क्षेत्रको पिठुवा र कवलपुर नाकाबाट समेत व्यापक तस्करी भइरहेको आरोप छ। यी नाकाबाट माछा, चकलेट, फूल तथा कपडालगायतका सामग्री नेपाल भित्र्याइँदै आएको स्रोतको दाबी छ । उक्त क्षेत्रबाट काम गर्न अरबिन्द, सियाराम र सुरेन्द्र नाम गरेका व्यक्तिहरू तस्करी सञ्जालका मुख्य पात्रका रूपमा चिनिएका छन्। उनीहरूले भारतीय बजारबाट सामान ल्याई स्थानीय गोदामसम्म पु¥याउने र त्यसपछि विभिन्न जिल्लामा पठाउने काम गर्दै आएको आरोप छ।यस तस्करी सञ्जालको ‘मुख्य समन्वयकर्ता’को रूपमा सरार्फ,भन्ने व्यक्तिको नाम समेत चर्चामा आएको छ। स्रोतका अनुसार उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूसँग नियमित सम्पर्क राख्दै तस्करीको लाइन सुरक्षित बनाउने काम गर्दै आएका छन्।“उनी प्रायः दैनिकजसो सशस्त्र प्रहरी बलको १२ नम्बर गणमा पुग्ने गर्छन्,” गणका एक सिनियर अधिकृतले दाबी गरे, “सीसीटीभी फुटेज अनुसन्धान गर्ने हो भने उनी र उच्च अधिकारीबीचको बाक्लो उठबस प्रष्ट देखिन्छ।
सुरक्षा निकायभित्रै उनको पहुँचका कारण तस्करहरू निडर बनेको आरोप छ।
तस्करी गरेर ल्याइएका सामानहरू सीमावर्ती क्षेत्र नजिकैको कोतवाली क्षेत्रमा भण्डारण गरिने गरेको समेत खुलेको छ। स्रोतका अनुसार त्यहाँ ठूलो गोदाम सञ्चालनमा छ, जहाँ करोडौँ मूल्य बराबरका कपडा, खाद्यान्न तथा अन्य सामग्री राखिने गरिएको छ।“यदि निष्पक्ष छापा हान्ने हो भने करोडौँको अवैध सामान फेला पर्छ,” एक स्थानीय स्रोतले भन्यो, “तर छापा पर्ने सूचना पहिल्यै चुहिने भएकाले कारोबारीहरू सतर्क हुने गरेका छन्।”


स्थानीय बासिन्दाहरूका अनुसार सीमाक्षेत्रमा तस्करी बढेसँगै वैधानिक व्यापार गर्ने व्यवसायीहरू मारमा परेका छन्। भन्सार तिरेर सामान ल्याउने व्यापारी प्रतिस्पर्धामा टिक्नै नसक्ने अवस्था आएको उनीहरूको गुनासो छ।सुरक्षा निकायका केही कर्मचारी र तस्करबीचको कथित साँठगाँठका कारण राज्यको राजस्वमा ठूलो क्षति पुगिरहेको जानकारहरू बताउँछन्। सीमावर्ती क्षेत्रमा लामो समयदेखि ‘लाइन सिस्टम’मार्फत तस्करी हुने गरे पनि पछिल्लो समय यो झन् संस्थागत शैलीमा विस्तार भएको आरोप लाग्न थालेको छ।
यता, यस विषयमा सुरक्षा निकायका जिम्मेवार अधिकारीहरूसँग प्रतिक्रिया लिन खोज्दा औपचारिक धारणा प्राप्त हुन सकेन। तर उच्च स्रोतहरूका अनुसार पछिल्लो गतिविधिबारे आन्तरिक रूपमा समेत चासो बढ्न थालेको छ।स्थानीयवासीहरूले भने सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि निष्पक्ष छानबिन, गोदाममा तत्काल छापा तथा संलग्न सुरक्षाकर्मीमाथि कडा कारबाहीको माग गरेका छन् । सेटिङको साम्राज्यमा बाराका सीमा नाका, बाराका झरओखर, अमरपुर, खजानी, तेलकुवा, बेनाैली, र कवलपुर नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको स्थानीयहरुले गुनासो गरेका छन् । खुला सीमाको फाइदा उठाउँदै कपडा, किराना, सामान र कृषि बीउको अवैध ओसारपसार दिनदहाडै भइरहेको आरोप छ । अझ गम्भीर कुरा के छ भने, स्थानीय स्रोतहरूका अनुसार यी गतिविधि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सीमा क्षेत्रमा रहेका सुरक्षा निकायको संरक्षण र सेटिङमै भइरहेको दाबी गरिएको छ।
स्थानीय बासिन्दा तथा सीमाक्षेत्रका जानकारहरूका अनुसार प्रहरी चाैकी, बिओपी, सशस्त्र प्रहरी गुल्म पिपरपातीको मिलेमतोबिना यति ठूलो परिमाणमा तस्करी सम्भव नै नरहेको बताउँछन् । उनीहरूका अनुसार भोलादेखि दीपक र दिनेशसम्मका व्यक्तिहरूले विभिन्न नाकाबाट ‘लाइन’ पाएर खुलेआम सामान भित्र्याइरहेका छन्।


सीमा क्षेत्रमा सक्रिय तस्कर समूहले भारतबाट कपडा, किराना र कृषि बीउ नेपाल भित्र्याउने तथा नेपाली बजारमा बिक्री वितरण गर्ने काम गरिरहेको आरोप छ। कतिपय अवस्थामा रातिको समयमा साइकल, मोटरसाइकल, पिकअपमार्फत सामान भित्र्याइने गरेको स्थानीयको भनाइ रहेको छ । स्थानीय एक व्यापारीले नाम नखुलाउने सर्तमा भने, “यहाँ सेटिङबिना एउटा बोरा सामान पनि आउँदैन। कुन दिन कसको पालो, कसले कति रकम बुझाउने भन्ने सबै मिलाइएको हुन्छ। प्रहरी र सशस्त्र दुवै जानकार छन्।”
उनका अनुसार तस्करीबाट दैनिक लाखौँ रुपैयाँ बराबरको सामान नेपाल भित्रिने गरेको छ । खुला सीमा, कमजोर निगरानी र सुरक्षा निकायको मौनताका कारण त्यो क्षेत्र अहिले तस्करहरूको सुरक्षित ट्रान्जिट प्वाइन्ट जस्तै बनेको स्थानीयको आरोप छ।
विशेषगरी झरओखर, अमरपुर र कवलपुर मटिअर्वा क्षेत्रलाई अहिले ‘सेफ करिडोर’ का रूपमा प्रयोग गरिएको बताइन्छ। भारततर्फबाट सामान ल्याएर सीमाको खेत तथा ग्रामीण बाटो प्रयोग गरी नेपाल प्रवेश गराइने र त्यसपछि विभिन्न गोदामसम्म पुर्‍याइने गरिएको स्थानीय स्रोतको दाबी छ। सशस्त्र प्रहरीको पिपरपाती गुल्ममा हाल डिएसपी सुभाष केसी प्रमुखका रूपमा कार्यरत छन्। तर सीमा क्षेत्रमा भइरहेको अवैध गतिविधि नियन्त्रणमा प्रभावकारी पहल नदेखिएको भन्दै स्थानीयले प्रश्न उठाउन थालेका छन् । उनीहरूका अनुसार सीमा सुरक्षाका लागि खटिएको संयन्त्र नै मौन बस्दा तस्करहरूको मनोबल झन् बढेको छ।
स्थानीय बासिन्दाहरू भन्छन्, “सामान ओसारपसार गर्नेहरू प्रहरीकै अगाडिबाट जान्छन् । कतिपय अवस्थामा सुरक्षाकर्मीले चेकजाँच नगरी छाडिदिन्छन् । त्यसैले माथिसम्म मिलेमतो छ भन्ने आशंका बलियो बनेको हो।” सशस्त्र प्रहरी बारा जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरीका स्थानीय युनिट बिओपी,प्रमुखसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन नसकेको बताइएको छ। पटक–पटक फोन सम्पर्क गर्दा समेत फोन नउठाइएको गुनासो गरिएको छ।
यसले सुरक्षा निकायको भूमिकामाथि थप प्रश्न खडा गरेको छ । यदि आरोप निराधार हुन् भने सम्बन्धित निकायले सार्वजनिक रूपमा आफ्नो धारणा राख्नुपर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। तर जिम्मेवार निकाय नै मौन बसेपछि सीमा क्षेत्रमा भइरहेको गतिविधिमाथि आशंका थप गहिरिएको छ।
स्थानीयका अनुसार तस्करीमा संलग्न समूहले सुरक्षा निकायलाई नियमित रकम बुझाउने व्यवस्था बनाएको चर्चा सीमा क्षेत्रमा व्यापक छ। “माथिसम्म सेटिङ मिलेको छ, त्यसैले कसैले रोक्दैन,” भन्ने कुरा अहिले गाउँगाउँमा चर्चाको विषय बनेको छ।

स्रोतका अनुसार भारतबाट ल्याइने कपडादेखि कृषि बीउसम्मको कारोबारमा ठूलो रकम चल्ने भएकाले सीमाक्षेत्रमा तस्करी नियन्त्रणभन्दा संरक्षण बढी भइरहेको आरोप छ। अवैध रूपमा भित्रिने बीउले कृषि क्षेत्रमा समेत असर पार्ने कृषि जानकारहरू बताउँछन्। बिना परीक्षण र कर छली गरेर ल्याइने बीउले उत्पादन र गुणस्तरमा जोखिम निम्त्याउन सक्ने उनीहरूको चेतावनी छ।
यस्तै, भन्सार छलेर भित्रिने कपडा तथा किराना सामानका कारण राज्यले राजस्व गुमाइरहेको छ, भने स्थानीय वैध व्यवसायी मारमा परिरहेका छन् । वैधानिक रूपमा कर तिरेर व्यापार गर्ने व्यापारीहरू अवैध सामानसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्छन्।
सीमावर्ती क्षेत्रका नागरिकहरू अहिले प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बाहिनी तथा गण मुख्यालयको भूमिकामाथि समेत प्रश्न उठाइरहेका छन्। स्थानीयका अनुसार यति ठूलो परिमाणमा लामो समयदेखि तस्करी भइरहँदा माथिल्ला निकाय अनभिज्ञ रहनु असम्भवजस्तै देखिन्छ।

यदि साँच्चै नियन्त्रण गर्ने इच्छा भएको भए एक दिनमै बन्द गर्न सकिन्थ्यो,” एक स्थानीय अगुवाले भने, “तर यहाँ नियन्त्रणभन्दा कमाइको खेल चलेको जस्तो देखिन्छ।”
सीमा क्षेत्रमा सक्रिय तस्करी सञ्जालमाथि निष्पक्ष अनुसन्धान आवश्यक रहेको स्थानीयको माग छ। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएर वास्तविकता छानबिन गर्नुपर्ने बताएका छन्।
सुरक्षा निकायमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन नभए सीमा क्षेत्रमा राज्यप्रतिको विश्वास झन् कमजोर बन्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles