सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित सरकारी क्वाटरमा छापा मार्दा सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ डिभिजन प्रमुख बसेको सोफामै फेला पारेको जनाएको छ। खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ समेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी दिन डिभिजन प्रमुखले घुस मागेको आरोप छ। डिभिजन प्रमुखको निर्देशनमा मेकानिकल अधिकृतले सेवाग्राहीबाट रकम उठाएर सरकारी क्वाटरमा पुर्याएको आरोप अख्तियारले लगाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर भ्रष्टाचार सम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।


