रौतहट । रौतहटको पूर्वीभेग दूर्गा भगवती गाउँपालिकामा एक जना पुजारीमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको छ । बिहीबार राति ११ बजेको समयमा दुर्गा भगवती गाउँपालिका–३, देवीपर्सा टोलस्थित श्रीरामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि मन्दिर छेउमै धारिलो हतियारले आक्रमण भएको हो ।
घाइते भएका पुजारी साहको पिपरा बजारस्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको स्थानीय समाजसेवी उमेश साहले बताए । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले घटनाको पुष्टि गर्दै आक्रमणमा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको बताए ।पक्राउ परेका व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन । घाइते पुजारीको अवस्था सामान्य रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



