बगेर जाने बालुवा बेच्दा किन विरोध ? सरकारले व्यापार गर्दैन, निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजालउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा नलाग्ने बताएका छन् । उनले बगेर खेर जाने बालुवा उत्खनन गरी बेच्ने कुरा आउँदा किन विरोध भइरहेछ भनी प्रश्न समेत उठाएका छन् ।आज (मंगलवार) जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकार आफैले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने मात्र बताए । व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।मन्त्री रिजालले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए । बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलार्य परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने समेत उनको भनाइ थियो ।‘सरकरले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको । सरकारले त मात्र सहयोग गर्ने हो,’ उनले भने, ‘के गर्नुपर्छ, बाटो बनाइदिने हो । अहिलेको गठबन्धन सरकारले तपाईहरुका समस्या समाधान गर्नेछ । प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै आएको छ । त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ न उद्योगपति सुखी रहन सक्छन् । सरकार कटिवद्ध छ । राजनीतिक स्थिरताका नहुँदा विगतमा समस्या आयो तर अब यो गठबन्धन सरकार ५ वर्ष नै चल्छ मलाई लाग्छ ।’देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने उनको भनाइ थियो । पहाडबाट बगेर जाने बालुवाहरुको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै उनले आपत्ति समेत जनाए ।