जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रको विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्रोत खुलेको आम्दानीको तुलनामा खर्चमा देखिएको बढी रकमलाई आयोगले स्रोत नखुलेको सम्पत्तिका रूपमा बिगो कायम गरी मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।
सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७ सय ६० रुपैयाँ २९ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।
मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने विषयमा परेको उजुरीमाथि छानबिन गर्दा एक करोड ३० लाख ४५ हजार ७ सय ६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगको दाबी छ ।
